२०८३ असार ६, शनिबार
 

राजनेतामा इमान्दारिता, क्षमता, कमनसेन्स, विचार र दूरदृष्टि चाहिन्छ

सरकारमा आयौं भने बूढानीलकण्ठ शैलीको ५ सय स्कुल बनाउँछौँ

prabhu bank home loan

रवीन्द्र मिश्र,

राजनीति र राजकाज अन्तरसम्बन्धित हुन् । तर राजकाज राज्यको रूपान्तरण हो । राज्यको रूपान्तरण गर्नेलाई राजनेता भनिन्छ। राजकाज राजनीतिको मेरुदण्ड हो । राजनेता हुन ५ गुण चाहिन्छ । इमान्दारिता, क्षमता, कमन सेन्स, विचार र दूरदृष्टि । हाम्रो देशमा २००७ सालपछि हेर्ने हो भने राजनीति र राजकाज आपसको परिपूरक भएर नगएको देखिन्छ ।

भारत स्वतन्त्र भएपछि जवहारलाल नेहरुले १५ वर्ष शासन गरे । त्यसबेला बलियोसँग केही मूल्य मान्यता स्थापित गरे । त्यही भएर त्यति ‘डाइभर्स’ सामाज भएर पनि अहिले लोकतन्त्र ‘भाइब्रेन्ट’ छ । पाकिस्तान छुट्टियो । त्यसको एक वर्षमै मोहम्मद अलि जिन्हाको निधन भयो । जसको असर राजनीति र राजकाजमा पर्‍यो र निरन्तर पाकिस्तानमा राजनीति अस्थिर भयो ।

२०४६ सालमा जब हामी लोकतन्त्रमा प्रवेश गर्‍यौं । त्यतिबेलाका नेताहरू आत्मकेन्द्रित नभइदिएका भए, स्वार्थकेन्द्रित नभएका भए, अलिकति अर्को शब्दमा भन्ने हो भने छोरी, नातावाद केन्द्रित नभइदिएका भए, आपसका वरिपरि केन्द्रित नभइदिएका भए सम्भवतः माओवादी द्वन्द्व पनि जन्मिँदैनथ्यो कि ! किनभने त्यसले ‘डेलिभर’ गर्नसक्ने ‘फाउन्डेसन’ तयार गर्थ्यो ।

तर काठमाडौं यस्तो केन्द्र बन्यो, जहाँ राजनीतिमा नहुनुपर्ने, राजकाजमा नहुनपर्ने सम्पूर्ण क्रियाकलाप भए । उता गाउँमा द्वन्द्व जन्म्यो। त्यसैकारण राजनीति समग्रता हो । राजकाजचाहिँ त्यसको मेरुदण्ड। राजकाजले राज्यको रूपान्तरण गर्छ ।

कसैले विद्यार्थीकाल, कसैले पेसागत जीवन बिताएपछि राजनीति सुरु गर्छन् । सिंगापुर बनाउने लिन वान हुले पढेर आएपछि केही समयपछि राजनीति सुरु गरेका हुन । तर अस्तित्वमै रहन सक्छ कि सक्दैन भनेको सिंगापुरजस्तो देशलाई आमूल रूपान्तरण गरिदिए। उनले एक ठाउँमा के भनेका छन् भने यदि मान्छेले खराब सरकार चिने भने नतिजा पनि खराब नै पाउँछन् र दुःखसाथ भन्नुपर्छ, समग्रतामा नेपालमा पनि यही भइरहेको छ ।

कल्याणकारी राज्यभन्दा कतिपयले यो परोपकार हो भनेर बुझ्ने गरेका छन् । परोपकार भनेको सामाजिक अवधारणा हो । कल्याणकारी राज्य भनेको पूर्णतः राजनीतिक अवधारणा हो । सुसंस्कृत समाज बन्न समाज परोपकारी र राज्य कल्याणकारी बन्न जरुरी छ । दार्चुलामा जन्मेको बच्चा र काठमाडौंमा जन्मेको बच्चाले आधारभूत मानव अधिकारभित्र पर्ने स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता सुविधा समान रूपमा पाउनुपर्छ । त्यसमा कुनै ‘कम्प्रोमाइज’ हुनै सक्दैन ।

जहिले पनि लोकतन्त्र स्थिर भएन भन्ने कुरा गर्छौं । जहिले पनि अधिकारका मात्रै कुरा गर्छौं । जब तपाईं अधिकार संस्थागत गर्ने जनशक्ति औसतभन्दा पनि निम्नस्तरको उत्पादन गर्नुहुन्छ, त्यसबेला कसरी लोकतन्त्र स्थिर गर्न सकिन्छ !

नेपालमा २० प्रतिशत विद्यार्थी निजी स्कुल जान्छन् । अलिकति राम्रो निजी स्कुल भनेको विदेशका लागि जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री हुन् । ८० प्रतिशत विद्यार्थी सरकारी स्कुल जान्छन् । एसईई दिँदा ७० प्रतिशतले न्यून नतिजा ल्याउँछन् । तिनै न्यून नतिजा ल्याउनेहरू राजनीतिमा छन्, प्रशासनमा छन्, पत्रकारितामा छन् र सामाजका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका छन् । यो विषयको जरामा नजाने हो भने १५ वर्षपछि पनि नेपालको अवस्था यही हुनेछ ।

भर्खरै मात्रै जो बाइडेनले खर्बौं डलर बालबालिकाका लागि सहयोग गर्ने, रोजगारी सिर्जना गर्ने, पूर्वाधार निर्माण गर्ने प्याकेज ल्याए। अमेरिकालाई हामी पुँजीवाद भनेर गाली गर्छौं । तर त्यहाँको मेडिकेयरजस्ता सुविधा निन्तान्त तल्लो तहका लागि भनेर तयार पारिएको हो र उनीहरूले त्यसमा खर्बौं रुपैयाँ खर्च गर्छन् । राज्य भनेको हुनेखानेका लागि हैन, जसको छैन, उसका लागि हो ।

कल्याणकारी लोकतन्त्र भनेको साम्यवादी स्वैरकल्पना होइन । यो भनेको सामाजलाई संकुचित पार्ने शास्त्रीय समाजवाद पनि होइन । कल्याणकारी लोकतन्त्र भनेको सामाजवाद र पुँजीवाद दुवैका राम्रा विशेषता अंगीकार गरेर अगाडि बढ्ने मध्यमार्ग हो ।

नेपालको हकमा अहिले बजेटको १० प्रतिशत शिक्षामा लगानी गरिएको छ । तर अन्तर्राष्ट्रिय अनुभवमा १७ देखि २० प्रतिशतसम्म शिक्षामा लगानी गरिन्छ । स्वास्थ्यमा पनि त्यस्तै छ । जोसँग पैसा छ, उसले राम्रो स्वास्थ्य, शिक्षा पाउने, जोसँग छैन, उसले नपाउने हुन सक्दैन । कुनै पनि सरकारले अब निःशुल्क सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकतामा पारेन भने नेपालको राजनीतिले अहिलेभन्दा न्यून जनशक्ति उत्पादन गरेर जहिले पनि घस्रिरहनेछ ।

त्यसका लागि ‘फोकस प्लानिङ’ गर्नुपर्छ । यस्ता केही आयोजनामा केन्द्रित हुनपर्यो जसले अर्थतन्त्रलाई उद्वेलित पारिदिओस् । जस्तोः हाम्रो छिमेकीमा थ्री गर्जेज आयोजना निर्माण गर्दा खर्बौं रुपैयाँ खर्च गरे, १३ लाख मानिसलाई विस्थापित गरे । तर त्यसले त्यहाँको अर्थतन्त्रमा ठूलो असर पार्‍यो। नेपालमा पनि यस्ता केही आयोजनामा फोकस गर्नुपर्यो, जसले अर्थतन्त्र उद्वेलित गरोस्, रोजगारी सिर्जना गरोस्, राष्ट्रिय पुँजी बढोस् ।

त्यसैले मैले भन्ने गरेको छु, जनताले साथ दिए र सरकारमा हामी आयौं भने सबैभन्दा पहिलो ५ वर्षमा बूढानीलकण्ठ शैलीको ५ सय स्कुल यो देशको सबैभन्दा पिछडिएको क्षेत्रमा स्थापना गर्छौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

9 + three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने