

काठमाडौं,
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले एक वर्षको अवधिमा १५ अर्ब ६७ करोड रुपैयाँ (१३ करोड २८ लाख डलर) भन्दाबढी रकम खर्च गरेका छन् । अर्थ मन्त्रालयले विहीबार सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनका अनुसार सन् २०१९/२०२० अर्थात आर्थिक वर्ष २०७६/७७ को अन्तिम (असार मसान्त २०७७) सम्म देशभर ८६ वटा एनजीओमार्फत यो रकम खर्च भएको हो ।
यसमध्ये ६५ करोड रुपैयाँ (५५ लाख डलर) भने कोरोना महामारीसँग जुध्ने प्रयोजनका लागि खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । एक वर्षको अवधिमा आईएनजीओले सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमै रकम खर्च गरेको तथ्यांकमा उल्लेख छ । यसरी गरिएको खर्च ४ करोड १८ लाख ५५ हजार डलर (४ अर्ब ९३ करोड रुपैयाँ भन्दा बढी) रहेको छ ।
त्यसपछि शिक्षा, जीवनस्तर, महिला बालबालिका तथा सामाज कल्याणको क्षेत्रमा बढी रकम खर्च भएको पाइएको छ । यसबाहेक कृषि, खानेपानी, शहरी विकास लगायतका क्षेत्रमा समेत आईएनजीओको पैसा खर्च भएको छ । कोरोना महामारीका बीच यो वर्ष आईएनजीओबाट परिचालिन हुने कुल रकम भने घटेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा एनजीओहरुबाट कुल २१ करोड ५३ लाख डलर (२५ अर्ब ६० करोड रुपैयाँ हाराहारी) रकम परिचालन भएको थियो । आव २०७६/७७ मा अघिल्लो आवको तुलनामा करिब ३८ प्रतिशतभन्दा कम रकम आईएनजीओबाट परिचालित भएको हो । यद्यपि यो वर्ष कतिपय आईएनजीओबाट सरकारको औपचारिक प्रणालीमै विवरण नआएको पाइएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा कुल एक सय १४ वटा आईएनजीओले सरकारको प्रणालीमा विवरण पठाएका थिए । यो वर्ष गत वर्षको तुलनामा २८ वटा आईएनजीओबाट विवरण आएन । कम आईएनजीओबाट मात्रै विवरण आउँदा खर्च भएको रकम समेत घटेको हुन सक्ने मन्त्रालयले जनाएको छ ।
बढी खर्च गर्ने ५ आइएनजिओ र गरेको खर्च विवरणः
१) सेभ द चिल्ड्रेनः २ करोड १४ लाख ३४ हजार ७ सय ७३ डलर
२) वर्ल्ड भिजन इन्टरनेशनलः एक करोड ३६ लाख ९८ हजार ७ सय ५६ डलर
३) प्लान नेपालः ९४ लाख ७१ हजार २ सय ९८ डलर
४) हेफर इन्टरनेशनल नेपालः ६२ लाख ३२ हजार ४ सय ६ डलर
५) अक्फाम ग्रेट ब्रिटेनः ५५ लाख १६ हजार ४ सय ७७ डलर




