२०८३ जेष्ठ १२, मङ्लबार
 

प्रसिद्ध बिस्का जात्राबारे भक्तपुर नगरपालिकाको सन्देश

prabhu bank home loan

‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’
प्रसिद्ध बिस्का जात्राबारे भक्तपुर नगरपालिकाको सन्देश

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,
बिस्का जात्रा नजिकिँदै छ । यसैबीच चैत्र २२ गते बसेको जिल्ला प्रकोप व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले गरेको ‘भैरवनाथको रथ तान्ने र लिंगो ठड्याउने जात्रा नहुने’ निर्णय सार्वजनिक गर्यो । यो निर्णयले असहज परिस्थिति उत्पन्न भयो । यो स्थितिप्रति हाम्रो गम्भीर ध्यान गएको छ ।

भक्तपुर नगर कला र संस्कृतिले सम्पन्न सांस्कृतिक नगर हो । यो नगरले कला र संस्कृति तथा सम्पदा संरक्षणमा अग्रणी भूमिका खेल्दै आएको छ । वर्षैभरि चलिरहने विभिन्न जात्रा सांस्कृतिक गतिविधिहरूले यो नगरलाई सधैँ जीवन्त बनाइ राखेको सबैलाई थाहा भएको कुरा हो ।

भक्तपुरमा मनाउने जात्राहरूमध्ये बिस्का जात्रा सबैभन्दा महत्वपूर्ण जात्रा हो । भक्तपुरमा मनाइने भए पनि यो जात्रा राष्ट्रिय महत्व बोकेको जात्रा हो । नयाँ वर्षको आगमनसँगै स्वदेश र विदेशमा बस्ने लाखौं नागरिकहरूले प्रविधिको माध्यमबाट प्रत्यक्ष जात्रा हेर्ने गर्दछन् । त्यसैले यस जात्रा सञ्चालन र व्यवस्थापनप्रति भक्तपुर नगरपालिका अत्यन्त संवेदनशील छ ।

प्राचीनकालदेखि निरन्तर सञ्चालन हुँदै आएको बिस्का जात्रा गतवर्ष कोभिड १९ को कारण बन्द भयो । लकडाउनको कारण बिस्का जात्रासँगै झण्डै आठ महिना हामीले हरेक जात्रालाई औपचारिकतामा मात्रै सीमित गर्नुप¥यो । नगरपालिकाले जात्रा, पूजासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालाहरूसँग नियमित छलफल गरी निर्णय गर्दै आएको हुँदा हरेक गतिविधिहरू सफलताका साथ सम्पन्न भयो । नगरपालिकाको हरेक कदमलाई साथ र सहयोग गर्ने आम जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

यो वर्षको बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भैरवनाथको रथ निर्माण कार्यको थालनीदेखि नै गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुखज्यू समेतसँग समन्वय र छलफल गर्दै अगाडि बढिरहेको पनि सम्पूर्ण जनसमुदायमा जानकारी गराउन चाहन्छौं ।

२०७७ साल चैत्र १७ गते प्रकोप व्यवस्थापन समिति भक्तपुर (सीएमसी) को बैठक बसी यो वर्षको बिस्का जात्रा शान्तिपूर्ण र मर्यादित ढंगबाट सामान्य रुपमा सम्पन्न गर्न जात्रासँग सम्बन्धित सरोकारवालाहरूसँग राय सुझाव लिई अगाडि बढ्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार चैत्र १९ गते भैरवनाथ जात्रा र लिंगो उभ्याउने र ढाल्ने जात्रासँग सम्बन्धित दाफा, भजन, गुठी, टीम, क्लब, जात्रा व्यवस्थापन समितिलगायतको संयुक्त बैठकमा यो वर्ष कोभिड १९ संक्रमणको जोखिमलाई ध्यानमा राखी सामान्य रुपमा मनाउने राय प्राप्त भएको थियो ।

सरोकावालाहरूको राय सुझावलाई ध्यानमा राखेर निर्णय गर्न अर्को बैठक बोलाउने तयारी गरिरहेकै अवस्थामा भक्तपुरका प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा बसेको जिल्ला प्रकोप व्यवस्थापन समितिको बैठकले ‘भैरवनाथको रथ तान्ने जात्रा र लिंगो उठाउने र ढाल्ने जात्रा नगर्ने’ निर्णय गरेको सार्वजनिक भयो । भक्तपुरमा हुने जात्रासम्बन्धी महत्वपूर्ण निर्णय गर्न स्थानीय तहसँग छलफल वा समन्वय भएको भए यस्तो खालको असहज स्थिति उत्पन्न नहुने स्पष्ट छ ।

जिल्ला प्रकोप व्यवस्थापन समितिको निर्णय सार्वजनिक भएपछि तत्काल चैत्र २३ गते बिस्का जात्रासँग सरोकार राख्ने सरोकारवाला सबैको बैठक राखी ‘भैरवनाथको रथ तान्ने र लिंगो जात्रा’ को बारे छुटै छलफल गर्ने गरी टोल टोलमा हुने जात्रालाई स्वास्थ्य सुरक्षा मापदण्डको प्रबन्ध गरी सञ्चालन गर्ने निर्णय गर्यौं । हामी रथ तान्ने र लिंगो जात्राबारे जनताको तर्फबाट सार्वजनिक रुपमा व्यक्त अभिव्यक्तिप्रति अत्यन्त संवेदनशील छौं ।

लाखौं जनतासँग सरोकार राख्ने रथ तान्ने र लिंगो उठाउने र ढाल्ने जात्राबारे जिल्ला प्रकोप व्यवस्थापनको निर्णय सच्याउन आजै मात्र माननीय प्रेम सुवालका साथ हामी जनप्रतिनिधिहरूको एउटा टोली प्रमुख जिल्ला अधिकारीसँग भेट गरी छलफल गर्यौं । उहाँ यस विषयमा अत्यन्त सकारात्मक हुनुभयो । यस विषयमा निकास दिन जति ढिलो भयो त्यति नै समस्या झन् जटिल हुनसक्ने विषयलाई ध्यानमा राखी आजै बसेको प्रकोप व्यवस्थापन नगर समितिलगायत जात्रासँग सरोकार राख्नेहरुसँगको बैठकले निम्न लिखित निर्णय गरेको जानकारी गराउन चाहन्छौं:

१) प्रसिद्ध बिस्का जात्राअन्तर्गतको भैरवनाथको रथ तान्ने, लिंगो उभ्याउने र ढाल्ने जात्रा कोभिड १९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने ।
२) जात्रा सञ्चालनको प्रत्यक्ष प्रसारण टेलिभिजन, रेडियो, एफ.एम, र सामाजिक सञ्जालमार्फत गर्ने ।
३) अनुशासित र मर्यादित रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सभ्य रुपमा जात्रा सम्पन्न गर्न माइकिङ गरी सबैसँग आग्रह गर्ने ।
४) बिस्का जात्रा सञ्चालनको लागि आवश्यक तयारी गर्न सरोकारवाला सबै पक्षसँग आग्रह गर्ने ।
५) जात्राको अवधिमा शान्ति सुरक्षाको सबै बन्दोबस्त जिल्लास्थित सुरक्षा निकायमार्फत गर्ने ।

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,
मौलिक प्रविधिमा धनी भक्तपुर नगरपालिकाभित्र हुने हरेक कार्य हाम्रै सीप र प्रविधिको आधारमा अघि बढ्न भक्तपुर नगरपालिकाले जोड दिइरहेको छ । वैकल्पिक विधिबाट रथ निर्माण गर्ने, जात्रा सञ्चालन गर्नेजस्ता प्रक्रियाले कतै हाम्रो मौलिक परम्परागत विधि र सीप लोप हुने त होइन भन्नेबारे हामी अत्यन्त सचेत छौं । भक्तपुर नगरपालिका सँधै नगरबासीहरूको साथमा छ ।

विगतका दिनहरूमा जस्तै यहाँहरूले रचनात्मक सल्लाह र सुझाव दिएर अझ व्यवस्थित रुपमा अगाडि बढ्न सहयोग गर्नुहुनेछ भन्ने आशा गर्दछौं । बिस्का जात्रा अरुको होइन, हाम्रो आफ्नै जात्रा हो । हाम्रो जात्रा राम्रो, सभ्य र सुसंस्कृत रुपमा सम्पन्न गरौं ! नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा तमाम नगरबासी तथा समस्त देश विदेशमा रहनुभएका नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

सुनिल प्रजापति
नगर प्रमख
२०७७ चैत्र २५ गते, बुधबार

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने