काठमाडौं,
आज पाँचौँ स्वास्थ्य बीमा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षभित्र सबै जिल्ला र स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार हुने बताउनु भएको छ । यस कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण, बीमितको आर्थिक जोखिम न्यूनीकरण एवं स्वास्थ्य सेवा प्रदायक संस्थाको दक्षता र जवाफदेहिता अभिबृद्धि हुने उहाँको भनाइ थियो ।
स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न, जेष्ठ नागरिक लगायत तोकिए बमोजिमका वर्गलाई योगदान रकममा पूर्ण तथा आंशिक छुटको व्यवस्था गरिएको बताउनुभएको छ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ २०७२ साल चैत २५ गते कैलाली जिल्लाबाट सुरुवात भएको कार्यक्रम अहिले ६९ जिल्लामा लागु भएको छ । मोरङमा ३ लाख ३७ हजार १ सय ६२ जनाले बीमा गरेको बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा गर्नेहरु ३७ लाख ६४ हजार ४ सय ८
अहिलेसम्म स्वास्थ्य बीमा गर्नेहरुको सँख्या ३७ लाख ६४ हजार ४ सय ८ पुगेको बोर्डले जनाएको छ । सबैभन्दा धेरे झापाका ४ लाख ४४ हजार १ सय ८० जनाले बीमा गरेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले बताउनुभयो । त्यसपछि चितवनका २ लाख ९७ हजार २ जना र सुनसरीमा २ लाख ९३ हजार ९ सय ४ जनाले बीमा गरेको उहाँको भनाइ छ ।
थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार
स्वास्थ्य बीमा कार्यक्रम आजबाट थप ६ जिल्लामा बिस्तार हुने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले जानकारी दिनुभयो । काठमाडौं र ललितपुरबाहेक ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिने उहाँको भनाइ छ ।
काठमाडौं र ललितपुरमा भने कार्यक्रम सुरु हुन केही समय लाग्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रम मार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५ सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा गराउन सक्नेछन् । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्य ७ सयका दरले बीमा रकम थप गर्नुपर्नेछ ।