

काठमाडौं,
भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी औपचारिक रुपमा वितरण गर्नुभएको छ । कार्यक्रमलाइृ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले उपत्यकाका जलाधार क्षेत्रको प्रदूषण न्यूनीकरण र भूमिगत पानी प्रयोग कम गर्न टेवा पुग्ने अपेक्षा गरेको बताउनुभयो ।
मेलम्ची खोलाको पानी काठमाडौं भित्रिएकाले जमीनमुनिको पानीको अत्यधिक दोहनलाई कम गर्न मद्दत पुग्ने विश्वास उहाँको थियो । ‘जलवायु परिवर्तन, जनसंख्या वृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिको पानीको अत्यधिक दोहनजस्ता कारणले पानीका स्रोतहरू प्रदुषित र संकटग्रस्त बनेको परिवेशमा मेलम्चीको शुद्ध पानी ल्याउन नेपाल सफल भएको छ,’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘यसबाट काठमाडौं उपत्यकाका जलाधार क्षेत्रको प्रदूषण न्यूनीकरणका साथै जमीनमुनिको पानीको अत्यधिक दोहनलाई कम गर्नसमेत मद्दत पुग्ने अपेक्षा लिएको छु ।’
नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन सांस्कृतिक शहर काठमाडौंमा मेलम्ची आयोजना एक उपहार बन्न पुगेको भन्दै राष्ट्रपति भण्डारीले यसबाट यहाँका जनताको खुसी बढेको उल्लेख गर्नुभयो । मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने पानीले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन गर्न धेरै हदसम्म सहज हुने उहाँको बुझाइ छ ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका सन्दर्भमा हासिल भएका सकारात्मक र नकारात्मक सिकाईबाट शिक्षा लिँदै आगामी दिनमा यस प्रकारका ठूला पूर्वाधार आयोजनाको तर्जुमा तथा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्ष सचेत बन्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनु भएको छ ।
यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो । पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण सुरु गरिएको थियो । एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ ।
अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठरसाढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ ।


