

काठमाडौं,
नेपाल मासु र अण्डासहितका पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरिएको छ । विश्व खाद्य संगठनको मापदण्ड अनुसार वार्षिक उपभोग गर्नु पर्ने परिमाण बराबरको पशुजन्य उत्पादन देशमै हुन थालेपछि आत्मनिर्भर घोषणा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले बताउनुभयो ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतबाट रासायनिक मल उत्पादन गर्ने काराखाना स्थापना गरिने बताउनुभयो । खेर जाने विद्युतको सदुपयोग हुने गरी कारखाना स्थापनाका लागि छुट्टै परियोजना सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले अबको दुई वर्षमा देशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी सरकार लागिपरेको बताउनुभयो । कृषिजन्य उत्पादन वार्षिक रुपमा बृद्धि भइरहेकोले आगामी ५ वर्षमा निर्यात गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।
पोल्ट्री व्यवसायी टिकाराम पोख्रेलले कुखुराको दाना बनाउने कच्चापदार्थका लागि मात्रै वार्षिक ५० अर्ब बाहिरने गरेकोले त्यसलाई रोकिनु पर्ने बताउनुभयो । कुखुराको दानाका लागि भटमासको पिना शतप्रतिशत बाहिरबाट ल्याउनु पर्ने र मकै समेत ६० प्रतिशत आयात गर्नु पर्ने अवस्था रहेको उहाँको भनाइ छ । ह्याचरी उद्योगमा २ सय अर्बभन्दा बढी लगानी रहेको बताउँदै व्यवसायी पोख्रेलले उत्पादन लागत घटाउन नेपालमै कच्चापदार्थ उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो ।
आजै दुध तथा दुग्ध पदार्थ ढुवानी गर्ने साधनहरुमा प्रयोग हुने प्रतिक चिन्ह पनि अनावरण गरिएको छ । साथै दुग्ध विकास संस्थानले उत्पादन गरेको धुलो दुधको बजारिकरण पनि सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पशुपन्छी तथा मत्स्य क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल, झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, धनुषाका माछापालक किसान रामसोवित मुखिया, भरतपुर चितवनका पोल्ट्रि व्यवसायी गुणचन्द्र विष्ट हुनुहुन्छ । त्यस्तै धुलो दुध उत्पादन गर्ने सुजल डेरी, सुदुरपश्चिममा बंगुरपालक किसान कलावती भट्ट, मुस्ताङका च्याङ्ग्रापालक किसान माया विष्ट पनि सम्मानित हुनुभएको छ ।
रुपन्देहीका गाइपालक किसान यज्ञमुर्ति खनाल, सुर्खेतका बाख्रापालक किसान मुना पोखरेल, डेरी व्यवसायी सुष्मा शर्मा र दुधजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्हका डिजाइनर सुयोगराज काफ्ले पनि सम्मानित हुनु भएको छ ।


