

काठमाडौं,
सरकारसँग निर्णायक वार्ता गर्ने भनेको जनता समाजवादी पार्टी (जसपा) आज संसदीय दलको बैठकमै अलमलियो । संसदीय दलको बैठकपछि नेपाली काँग्रैससँग छलफल गरे पनि आगामी रणनीति र ठोस निर्णय भने गर्न सकेन ।
संसदीय दलको बैठक कुनै ठोस निर्णय नगर्दै सकियो
जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक कुनै ठोस निर्णय नगर्दै सकिएको छ । शुक्रबार सिंहदरबारस्थित जसपा संसदीय दलको बैठकमा पार्टीको संसदीय दलको नेता चयन, पार्टीको विधान पारित गर्ने लगायतका विषयमा छलफल भए पनि कुनै निर्णय हुन सकेन ।
बैठकपछि नेताहरुले दुई थरी बिचार व्यक्त गरेका छन् । नेता राजकिशोर यादवले आफ्नो दलले सत्ताको नेतृत्व गरेर जान प्रस्ताव गर्ने बताउनुभयो । सधैँ अरुलाइृ सहयोग गरेर जानेभन्दा पनि आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने प्रश्ताव उहाँको थियो । नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेससँग सत्ता समीकरणका लागि आफ्ना एजेण्डाहरु प्रस्तुत गर्ने र जो आफ्नो एजेण्डामा सहमति जनाउँछ त्यो दलसँग मिलेर सरकार बनाउन सक्ने नेता यादवको भनाइ छ ।
अर्का दुई प्रमुख नेताहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादवले नेकपा एमालेसँग कुनै हालतमा सहकार्य हुन नसक्ने बताउनु भएको थियो । अहिलेको प्रमुख मुद्धा नै ओलीलाई सत्ताबाट बर्हिगमन गर्ने रहेकोले एमालेसँग सहकार्य हुन नसक्ने भट्टराईको भनाइ थियो । उपेन्द्र यादवले पनि संसदको हत्या गर्ने काम गर्ने प्रतिगामीसँग फेरी सहकार्य हुन नसक्ने बताउनुभएको थियो ।
काँग्रेससँगको छलफलमा पनि ठोस सहमति भएको छैन
संसदीय दलको बैठकपछि देउवा निवास बुढानिलकण्ठ पुगेका जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताहरूले काँग्रेसका शीर्ष नेतासँग एक घण्टा कुराकानी गरे ।
५ बजेदेखि ६ बजेसम्म भएको भेटवार्तामा काँग्रेससँग मिलेर जाने विषयमा छलफल केन्द्रीत रहेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । ‘अहिलेको अवस्थामा सबै विषयमा कांग्रेससँग मिलेर जाने विषयमा छलफल भयो,’ ठाकुरले भन्नुभयो, ‘पार्टीका नेताहरू जेलमा रहेको र उनीहरू छुट्नुपर्ने पनि छलफलमा कुरा उठेको थियो । अहिले केही सहमति भएको छैन । सबै मिलेर जाने भन्ने हो ।’
माओवादी केन्द्रसँग पनि जसपाले छलफल गर्ने नेताहरुले बताएका छन् । ‘माओवादी केन्द्रसँग अब छलफल हुन्छ’ ठाकुरले भन्नुभयो, ‘सबैले मिलेर जाऔं भनेका छन्, ठिक छ मिलेर जाऔं हामीले पनि भनेका छौं ।’
काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एउटा साझा धारणा बनाउने र सबैबाट मतअभिमत बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो । ठोस सहमति भइनसकेको उहाँको भनाइ छ ।

