

काठमाडौं,
आमागी चैतको दोस्रो हप्तादेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण सुरु हुने भएको छ । चैत १५ गतेदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीबाट मेलम्चीको पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश प्रसाद खत्रीले बताउनुभयो । सुन्दरीजलमा बनाइएको पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाइने उहाँको भनाइ छ ।
चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटरका दरले र चैत २७ पछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुने आयोजनाले जनाएको छ । नयाँ पाइपलाइनको परीक्षण नसकिउन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुनेछ । सुख्खायामभरि मेलम्चीको पानी केयूकेएलको वितरण प्रणालीमा पठाइनेछ ।
वर्षायाम लागेपछि भने एक पटक सुरुङ खाली गरेर त्यसको सुपरीवेक्षण गर्ने आयोजना प्रमुख खत्रीले बताउनुभयो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का अनुसार मेलम्चीको पानी वितरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार छ । नयाँ वितरण लाइनको परीक्षण सकेर पूर्णरुपमा केयूकेएलले पानी वितरण गरिरहेको पुरानो लाइन विस्थापन गर्न एक वर्षभन्दा बढी समय लाग्ने निर्देशक कमलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न थालिने छ । सुरुङ भरिन ३/४ दिन लाग्ने आयोजना प्रमुख तिरेश प्रसाद खत्रीको भनाइ छ ।

