काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताउनुभएको छ । विश्व मृगौला दिवसका अवसरमा विहीबार राजधानीमा आयोजित चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विशेषज्ञ सेवाका लागि प्रयास भइरहेको बताउनुभयो ।
‘छिटै त्यस्तो केन्द्र स्थापना गर्न मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशिल रहनुभएको छ’ उहाँले भन्नुभयो । ‘मृगौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागि हालेमा प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ,’ दुई पटक मृगौला प्रत्यारोपण गराइसक्नुभएका प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘हाम्रो खानपिन वा हाम्रो दैनिकमा मृगौलालाई असर पार्न खानपीन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो ।’ यो रोग जसलाई पनि हुन सक्ने भएकोले सबै जना सजग हुनुपर्ने समेत प्रधानमन्त्रीले बताउनुभयो ।
पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराउनुभयो । ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उहाँको भनाई थियो ।
मृगौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनु पर्नेमा पनि जोड दिनुभयो । ‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपाल सहित विश्वभर मृगौला दिवस मनाईदैछ । प्रधानमन्त्री ओली सम्बोधन पश्चातको प्रभातफेरीमा पनि सहभागी हुनुभएको थियो ।