

काठमाडौं,
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर ३ सियाँलाका किसानले पालेको व्यवसायिक लेयर्स कुखुरामा बर्ड फ्लु पुष्टि भएको छ । ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले जानकारी दिनुभयो ।
बर्ड फ्लु पुष्टि भएपछि रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोगग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरी रोग नियन्त्रण गरिएको उहाँको भनाइ छ । उक्त क्षेत्रमा रोग नियन्त्रण कार्यलाई सहजिकरण गर्न सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरुका साथै पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकहरुको विज्ञ टोली जाजरकोट पठाइएको विभागले जनाएको छ ।
प्रवक्ता समेत रहनु भएका डा चन्द्र ढकालका अनुसार अनुसार रोग नियन्त्रणका क्रममा त्यहाँ रहेका ३ सय ब्रोइलर कुखुरा, ३ सय ३१ लेयर्स कुुखुरा, ७० लोकल कुखुरा, ८ सय ८३ अण्डा र २ सय ५१ केजी दाना, २ सय गोटा अण्डाको केटसमेत नष्ट गरिएको छ । विभागले रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरिसकिएको उहाँले बताउनुभयो ।
विभागले बर्ड फ्लु रोगको सघन निगरानी कार्यलाई नियमित सञ्चालन गर्दै आइरहेको छ । विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न गराउन, फार्म परिसरमा नियमित रुपमा निसङ्क्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै किसानहरुलाई आग्रह गरेको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न गराउन विभागले अनुरोध गरेको छ ।
योसँगै माघयता नेपालमा पाँचपटक बर्ड फ्लु देखिएको हो । यसवर्ष पहिलो पटक काठमाडौँको तारकेश्वर नगरपालिका १ मा दुईपटक र वडा नं. ७ मा एकपटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एकपटक बर्ड फ्लु देखिएको थियो ।


