२०८२ जेष्ठ ६, सोमवार
 

सेतो मच्छिन्द्रनाथ मन्दिरको प्रवलीकरण सुरु

काठमाडौं,

काठमाडौं महानगरपालिका ३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य सुरु भएको छ । आज बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले यी कार्यको संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

२०७२ को भूकम्पबाट क्षतिग्रस्त यो मन्दिरको भारत सरकारको ६ करोड २६ लाख रुपैयाँ अनुदान सहयोगमा प्रवलीकरण हुन लागेको हो ।
सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको करिब पाँच अर्ब ८० करोड रुपैयाँ (५० मिलियन अमेरिकी डलर) आर्थिक अनुदानअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो ।

शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानै प्रविधि, परम्परागत निर्माण सामग्री प्रयोग गरेर मन्दिरको प्रवलीकरण गरिने बताउनुभयो । भूकमपबाट क्षतिग्रस्त ४ सय ६५ पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै उहाँले भारत सरकारको सहयोगमा पुनर्निर्माण हुने सम्पदाहरुको काम अगाडि बढ्ने जानकारी दिनुभयो ।

भारतीय राजदूत क्वात्राले नेपालका पुरातात्विक सम्पदा दुई देशको सम्बन्धमा आधारशीला भएको उल्लेख गर्दै यी सम्पदा संरक्षणमा गर्न पाउनु भारतका लागि खुशीको कुरा भएको उल्लेख गर्नुभयो । सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले विभिन्न सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माणमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।

सम्पदा पुनर्निर्माण तथा प्रवलीकरणको डिजाइन तथा पुरातात्विक अनुगमन पुरातत्व विभागले गर्दछ भने प्राधिकरणमातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० ले ठूला सम्पदाको कार्यान्वयन गराउँछ । यी सम्पदाहरु नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्डअनुरूप प्रवलीकरण गरिने छन् ।

सबै सम्पदाको पुनर्निर्माण गर्ने क्रममा तिनको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामग्री प्रयोग गरिने जानकारी केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले दिनुभयो । सेतो मच्छिन्द्रनाथको मन्दिर १० औँ शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । यो मन्दिर सामाजिक, धार्मिक सहिष्णुताका लागि प्रख्यात छ ।

सेतो मच्छिन्द्रनाथलाई हिन्दू र बौद्घ धर्मावलम्बीले समान आस्थाका साथ पूजाआजा गर्दै आएका छन् । शिलान्यास अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी लगायतको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen − eight =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने