एजेन्सी,
संयुक्तराज्य अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरस विरूद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको विशेषता भनेको यो आम मानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ र एक डोजमात्रै लगाए पुग्छ ।
यसअघि अनुमति पाएका खोपहरू दुई डोज लगाउनु पर्ने थिए । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले १८ वर्षमाथिका व्यक्तिका लागि उक्त खोप प्रयोग गर्न शनिबार अनुमति दिएको हो । यो खोपलाई अनुमति दिने अमेरिका विश्वको पहिलो देश हो ।
यसअघि अमेरिकाले फाइजर र मोडर्ना खोपलाई पनि अनुमति दिइसकेको छ । फाइजर र मोडर्ना खोपलाई भण्डारण गर्न डिप प्रिज आवश्यक पर्छ भने दुई डोज लगाउनुपर्छ । जोन्सनले विश्वभरि ४४ हजार मानिसमा खोपको परीक्षण गरेको थियो।
त्यसबाट खोप ६६ प्रतिशत प्रभावकारी देखिएको थियो। यो खोप लगाएपछि संक्रमण भए पनि अस्पतालमा भर्ना हुनु पर्ने र मृत्यु हुनेको संख्या शून्य थियो । एक डोजमात्रै लगाउँदा हुने र सामान्य फ्रिजको तापक्रममै राख्न सकिने भएकाले संसारभरिका देशमा जोन्सनको खोपप्रति आकर्षण हुने बताइएको छ।