

काठमाडौं,
मँगलबार सेयर बजार परिसूचक नेप्सेले २ हजार ६ सय अंक पार गरेको छ । बजार बन्द हुँदा सेयर बजार परिसूचक २ हजार ६ सय एक अंक कायम भएको छ । जुन अंक अहिलेसम्मकै उच्च हो ।
मँगलबार परिसूचक १५ दशमलव ५ अंकले बढेर २ हजार ६ सय एकमा पुगेको हो । मँगलबार कारोबार सुरु भएको एक घण्टा नबित्दै सेयर बजार परिसूचक बढेर २ हजार ६ सय ३१ बिन्दुमा पुगेकोमा पछि उतारचढाव हुँदै २ हजार ६ सय एक विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
यस दिन १० अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकिङतर्फ ३८, विकास बैंकतर्फ ६ र अन्य समूहतर्फ ५ अंकले बढेका छन् । तीबाहेक सबै समूह घटेका छन् । ब्यापार ३७, होटल १३, जलविद्युत २६, फाइनान्स ९, निर्जीवन बीमा ३७, उत्पादन एक सय ११, माइक्रोफाइनान्स २४ र जीवन बीमा समूह ५४ अंकले घटेको छ ।
चन्द्रागिरि हिल्स, मिर्मिरे माइक्रोफाइनान्स, इन्फ्रास्ट्रक्चर बैंक, कर्णाली विकास बैंक, सनराइज म्युचुअल फण्ड, हिमालय उर्जा विकास कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।
आजको कारोबारपछि चन्द्रागिरि हिल्सको मूल्य प्रतिकित्ता २ सय २० रुपैयाँ पुगेको छ भने इन्फ्रास्ट्रक्चर बैंकको मूल्य प्रतिकित्ता ४ सय ५२ रुपैयाँ कायम भएको छ ।
त्यसपछि धेरै मूल्य बढ्नेमा सिद्धार्थ बैंक, नेपाल बैंक, ग्लोबल आइएमई र एनएमबि बैंक क्रमश रहे । सिद्धार्थको ६.८, नेपाल बैंकको ५.४, ग्लोबल आइएमई ४.६ र एनएमबिको ४.२ प्रतिशतले मूल्य बढ्यो । पाँचथर पावर कम्पनीको मूल्य ५.६ प्रतिशतले बढेको थियो ।

