

काठमाडौं,
प्रहरी हिरासतबाट रिहा भएपछि नेकपा प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिनुभएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले राज्य विरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान उहाँलाई आफ्नै निवास शंखमुलबाट पक्राउ गरेको थियो । मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ उहाँलाई रिहा गरिएको छ ।
रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको जानकारी दिनुभयो । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयास स्वरुप पक्राउ गरिएको भन्दै उहाँले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको प्रतिक्रिया दिनुभयो ।
‘नियन्त्रणमा ल्याउने प्रयास भनेको पछिल्लो प्रतिगमनविरूद्धको आन्दोलनमा मैले आफ्नो उपस्थिति र यो आन्दोलनलाई जसरी उत्कर्षमा पुर्याउने भूमिकामा थिएँ ।’ उहाँले भन्नुभयो, ‘त्यही कारणले व्यक्तिगत तथा राजनीतिक हिसाबले ह्यारेसमेन्ट गर्ने कदम चालिएको जस्तो लाग्यो र यहाँ अरू केही पनि कुरा भएन ।’
‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं’ उहाँले भन्नुभयो ।
आफूलाई राजनीतिक प्रतिशोधको रूपमा सरकारले प्रत्यक्ष रूपमा प्रहरी प्रशासनमाथि दबाव बढाएर नियन्त्रणमा ल्याउने प्रयास गरेको उहाँको भनाइ छ । झाँक्रीलाई प्रहरीले मुलुकी अपराध फौजदारी संहिता ऐन, २०७४ को राज्यविरूद्धको कसूर अन्तर्गत दफा ५८ बमोजिम पक्राउ गरेको थियो ।
प्रहरीले उहाँलाई सोधपुछ गरेपछि साँझ श्रीमान पशुपति पुरीको रोहवरमा रिहा गरेको थियो ।

