

काठमाडौं,
काठमाण्डौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु भेटिएको छ । तारकेश्वरको वडा नम्बर १ का किसानले पालेका हाँसमा बिहीवार बर्डफ्लु पुष्टि भएको हो ।
छापका किसान प्रल्हाद तामाङ र उहाँका छोरा सुमनले पालेको हाँसमा बर्ड फ्लु पुष्टि भएको तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले जानकारी दिनुभयो । केही दिनअघि स्थानीय किसानले पालेको हाँसको नमुना त्रिपुरेश्वरको प्रयोगशालामा पिसिआर परीक्षणका लागि पठाएको थियो ।
परीक्षणपछि बर्ड फ्लु भएको पुष्टि भएको पशुसेवा विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो । बर्डफ्लु पुष्टि भएसँगै ‘र्यापिड रेस्पोन्स टिम’ ले एक हजार चार सय २१ वटा हाँस र ४२ वटा स्थानीय कुखुरा नष्ट गरेको छ । बर्ड फ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइसकेको प्रवक्ता डाक्टर चन्द्र ढकालले बताउनुभउो ।
यहि माघ १६ गते तारकेश्वर ७ को साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि १८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।


