

काठमाडौं,
आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा विदेशी विनिमय सञ्चिति १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन प्रतिवेदन अनुसार गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले बढेर १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ पुस मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड पुगेको प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो । ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.९ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने विश्लेषण गरिएको उहाँको भनाइ छ ।
आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन प्रतिवेदन अनुसार रेमिट्यान्स ११=१ प्रतिशतले बढेर ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । कोरोनाको त्रास हुनु अगाडिको अवस्था भन्दा रेमिट्यान्समा सुधार भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले मात्रै प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो । रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढे पनि वैदेशिक रोजगारीको अवस्था भने बेहाल देखिएको छ ।
६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।

