

काठमाडौं,
कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको तेस्रो दिन शुक्रबारसम्म देशभर ४६ हजार भन्दा बढीले खोप लगाएका छन् । ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रबाट कुल ४६ हजार १ सय ७९ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरहरुले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता गौतमले प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजार ६ सय ५० र बागमती प्रदेशमा १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छन् । त्यस्तै गण्डकी प्रदेशमा ७ हजार १ सय ५३, लुम्बिनी प्रदेशमा ४ हजार ६ सय ३५, कर्णाली प्रदेशमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
शुक्रबारसम्म खोप लगाएका व्यक्तिहरुमा सामान्य असरहरु देखिएको तथ्यांक प्राप्त भएपनि चिकित्सकहरुको प्रतिवेदन अनुसार ती सबै व्यक्तिहरुमा देखिएका असरहरु केही समय पश्चात आफैं निको भएको उहाँको भनाइ छ । कसैमा पनि जटिल स्वास्थ्य समस्या नभएको प्रवक्ता गौतमले जानकारी दिएका हुन् ।
बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत पहिलो दिन ९ हजार ८४ र दोस्रो दिन बिहीबार १९ हजार ६ सय ४८ जनाले खोप लगाएका थिए ।

