

सिन्धुपाल्चोक,
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयमा विद्यालय बस सेवा प्रभावकारी बन्दै गएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले गत वर्ष सञ्चालन गरेको ‘विद्यालय बस सेवा अनुदान’ कार्यक्रम अन्तर्गत विद्यालयलाई बस खरिदका लागि सहयोग गरेको थियो ।
विद्यालयले खरिद गरेको बस शैक्षिक सत्र २०७७ को सुरुमा कोभिड संक्रमणको जोखिमको कारण तत्काल उपयोग हुन नसके पनि २०७७ कात्तिक २२ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो ।
हेलम्बु गाउँपालिकाका वडा नम्बर २ चनौटेदेखि मेलम्ची बजारसम्म दुई तर्फबाट अध्ययनका लागि आउने एक सय जनाभन्दा बढी विद्यार्थीहरुलाई दैनिक रुपमा सुविधा दिइरहेको विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो । गत वर्षको तुलनामा विद्यालयमा नयाँ भर्नाको दरमा पनि उल्लेख्य वृद्धि भएको उहाँको भनाइ छ ।
यस वर्ष अन्य विद्यालयबाट स्थानान्तरण भइ नयाँ विद्यार्थीको रुपमा भर्ना हुने विद्यार्थी एक सय ८७ जना रहेको विद्यालयले जनाएको छ । जुन गत वर्षको भन्दा दोब्बर संख्या हो । यसको मुख्य कारण विद्यालयले पछिल्लो समय अभिभावकमा बढाएको विश्वास र विद्यालय बसको सुबिधा नै भएको प्रधानाध्यापक ढुङ्गानाले बताउनुभयो ।
सुरक्षित रुपमा समयमै विद्यालय जान आउन सहज भएकोमा विद्यार्थी तथा अभिभावकहरु खुशी देखिन्छन् । मन्त्रालयले गत आर्थिक वर्षमा प्रदेशका १३ जिल्लाका २५ वटा सामुदायिक माध्यमिक विद्यालयलाइ बस अनुदान दिएको थियो ।




