

काठमाडौं,
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ ।
धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिनुभयो । त्यसैले माघे संक्रान्तिको दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुल लगायतका परिकार खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।
राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्ः राष्ट्रपति
माघे संक्रान्ति पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नु भएको छ ।
यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना पनि राष्ट्रपतिको छ ।
आपसी सदभाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकासः उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताउनु भएको छ । ‘संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ । आफ्नो सातदशक लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्दछ ।’ माघे संक्रान्ति पर्वको अवसरमा जारी शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भन्नु भएको छ ।
मगर, थारु, छन्त्याल लगायत समुदायले आ–आफ्नो मौलिकताका साथ मनाउने माघे संक्रान्ति पर्व सबै नेपालीको साझा भएको बताउँदै उपराष्ट्रपति पुनले यस पर्वले आपसी सदभाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षाः सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्वहरुको मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने बताउनु भएको छ । ‘संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।’ माघे संक्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले भन्नसभएको छ ।
तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको उल्लेख गर्दै सभामुख सापकोटाले सन्देशमा भन्नुभएको छ, ‘कोभिड–१९ को महामारी कायम रहेकाले यस वर्षका अरु चाडपर्वमा जस्तै माघेसंक्रान्ति/माघी पर्व पनि उच्च स्वास्थ्य सतर्कताकासाथ मनाउनु हुन सबैमा अपिल गर्दछु ।’ यस पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने सभामुखको विश्वास छ ।

