

काठमाडौं,
नेपाली काँग्रेसले बुधबार देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइराला सहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा यो दिवस मनाइने गरिएको छ ।
आठ वर्षको भारत प्रवासपछि कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो । त्यसपछि २०२५ सालमा वीपी कोइराला सहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए ।
तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तत्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए । कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।
यसपटक कांग्रेसले राष्ट्रिय एकता मेलमिलाप दिवसलाई सरकारले गरेको गलत कदमलाई समेत विरोध गर्दै मनाउने जनाएको छ ।

