२०८३ बैशाख ४, शुक्रबार
 

पश्चाताप गर्न चाहन्छु भनेर आउनुभयो भने ओलीलाई स्वागत छः प्रचण्ड

prabhu bank home loan

पुष्पकमल दाहाल प्रचण्ड,

केन्द्रीय कमिटीको दोस्रो बैठक हामीले गत माघ महिनाको दोस्रो र तेस्रो हप्तामा सम्पन्न गरेका थियौं । सबैलाई स्मरण होला, त्यो बैठक पार्टी एकता भएपछिको एउटा साँचो अर्थको अर्थपूर्ण, सार्थक र सामूहिक विवेकको प्रयोगद्वारा सही निष्कर्ष निकाल्ने मञ्चका रुपमा सफल भएको थियो । कमरेडहरुलाई लाग्यो कि अब पार्टी बन्ने भयो, त्यस्तो सन्देश दिएको थियो ।

आज ११ महिनापछि हामी केन्द्रीय समितिको यो तेस्रो बैठकमा उपस्थित छौं । तेस्रो बैठकमा आउँदा परिस्थिति नितान्त भिन्न भएको छ । दोस्रो बैठकजस्तो छैन अहिलेको अवस्था । आज पार्टीको एउटा पक्ष, समूह भनौं या एउटा गुटले नाम यही राखेर, तर अर्कै पार्टी दर्ता गर्न निर्वाचन आयोगमा गएको समाचार भर्खरै हामीले हेर्‍यौं ।

म उनीहरुलाई के भन्न चाहन्छु भने यो एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक हो । केन्द्रीय समितिको बैठक हुनका लागि आवश्यक पर्ने सबै वैधानिक र आधिकारिक अवयवहरु यो हलभित्र छ । म बडो प्रष्टसँग भन्न चाहन्छु र यो मञ्चबाट मेरो बोली बाहिर जाओस् भन्ने पनि चाहेको छु । बाहिरी दुनियाँले पनि सबै सम्बन्धित निकायले पनि राम्रोसँग सुनून् भन्ने पनि मेरो आधिकारिक धारणा छ । यो हलभित्र अहिले ६६ प्रतिशतभन्दा बढीको प्रतिनिधित्व गर्ने केन्द्रीय समितिका सदस्यहरुको उपस्थिति छ । यो भनेको दुई तिहाइ बहुमतभन्दा बढी हो ।

मलाई भनिएअनुसार केही कमरेडहरु बाटोमा आउँदै हुनुहुन्छ, यही बैठकका लागि र केही कमरेडहरु आज नआए पनि भोलि आउँछौं भनेर यहाँ बस्दाबस्दै सूचना आएको छ । ती कमरेडहरुसँग पनि जोड्दा हामी ६७र६८ प्रतिशत सदस्यहरुको सहभागिता छ । त्यसकारण यो केन्द्रीय कमिटीको बैठक हो ।

हाम्रो संविधानको मर्म र भावनाअनुसार, हाम्रो निर्वाचन आयोगको नियम, कानुन, ऐनअनुसार हामीले बनाएका अन्य मान्यताअनुसार यो केन्द्रीय समितिको आधिकारिक र वैधानिक बैठक हो । अर्को, ३०/३२ प्रतिशत पनि नपुगेको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मान्यता प्राप्त गर्न सम्भव छैन । आधिकारिक छैन । वैध छैन । यो कुरा निर्वाचन आयोग, संविधानविद्, कानुनविदहरुले हेर्ने नै छन् । साँच्चै जतात्यतै बेथिति जतात्यतै अराजकताको भूँवरीमा पर्न खोजेको हो त ? सम्बन्धित निकायका पदाधिकारीहरु संविधान र ऐनको व्यवस्था अनुसार विधिसम्मत ढंगले चल्छन् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । विधिको शासनलाई सम्मान गर्नेछन् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

यो एकीकृत पार्टी हो । तत्कालीन एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा० हो । यहाँ पूर्वएमालेका वरिष्ठ नेताहरु, पार्टी निर्माण गरेर नेतृत्वमा भूमिका खेलेका नेताहरुदेखि स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरुको ठूलो उपस्थिति छ । तत्कालीन नेकपा माओवादी केन्द्रको त झन् ठूलो उपस्थिति छ र यो एकीकृृत पार्टी हो । यो कुरा पनि बाहिरी दुनियाँले राम्रोसँग सुनोस्, बुझोस् भन्ने चाहेको छु । यो एकीकृत नेपाल कम्युनिस्ट पार्टी नेकपा हो ।

म कमेरड बामदेव गौतम पनि छिट्टै यो बैठकमा सहभागी हुने विश्वास व्यक्त गर्न चाहन्छु । उहाँलाई अनुरोध पनि गर्न चाहन्छु । मैले अलि बढी भावनात्मकरुपमा भरोसा गरेको, विश्वास गरेको नेताभित्र पर्नुहुन्छ, वामदेव कमरेड । साह्रै नजिक भएकाले कहिलेकाँही घोचपेच पनि हुन्छ । त्यसलाई कमरेड बामदेव गौतमले सहजरुपमा बुझ्नुहुन्छ भन्ने विश्वास लिएको छु । उहाँ उता जानुभएको छैन, यता आउने सम्भावना छ । आधिकारिक पार्टी यही हो । कमरेड ! तपाईं हामीले बनाएको पार्टी यही हो । त्यसकारण तपाईं आउनुस् भन्न चाहन्छु ।

कमरेड बादलसँग आज बिहान मेरो गम्भीर कुरा भएको छ । मलाई के विश्वास छ भने भोलि कमरेड बादल यो बैठकमा आउनुहुन्छ । मलाई त्यही विश्वास दिलाउनुभएको पनि छ । उहाँलाई पनि सगौरव आधिकारिक र वैध पार्टीमा सामेल हुन अपिल गर्न चाहन्छु । हामी सबैले त्यो चाहना राखेका छौं, यो सिंगो हलले सचिवालयका दुईजना नेता कमरेड वामदेव गौतम र बादललाई पनि अगाडि देख्न चाहेको छ । म उहाँहरुलाई विनम्रतापूर्वक यो पार्टी निर्माणमा हामीले खेलेको भूमिका निस्तेज हुन नपाओस् भनेर अपील गर्न चाहन्छु ।

मैले भन्न के खोजेको भन्ने कमरेडहरुले बुझिहाल्नुभयो, यो पार्टी हो । बिहान (बालुवाटारमा) जे गरियो, एकातिरबाट हेर्‍यो भने त्यो गुटको घेरा हो । त्यसलाई पार्टी भन्न मिल्दैन । त्यहाँ एकीकृत स्वरुप नै छैन । एकरदुईटा नम्बर यसो देखाउन खोजियो होला । एकरदुईजनाको अनुहार देखाएर पार्टी हुन्न, त्यसकारण गुट नै हो । उहाँहरुले जे निर्णय गर्नुभयो, मेरो दृष्टिमा त्यो पार्टीको आधिकारिक र वैधानिक निर्णय हुन सक्दैन । एक तिहाइभन्दा कम केन्द्रीय सदस्य बसेर दुई तिहाइभन्दा बढी मान्छे थपेर निर्वाचन आयोगमा लगेर देखाउनुलाई नौटंकीबाहेक केही भन्न सकिन्न । यो नौटंकीलाई आधिकारिक संस्थाहरुले मान्यता दिन्छन् भने त्यसलाई दुर्भाग्यबाहेक केही भन्न सकिन्न । यद्यपि मैले ती संस्थाहरूप्रति अविश्वास गरेको छैन । तर, जे गरियो, आज बिहान, त्यसमा न आधिकारिता छ, न वैधानिकता छ । न त्यसमा परम्परा जोडिएको छ, न एकताको ऐतिहासिक भावना प्रतिबिम्बित भएको छ । त्यसकारण त्यो गुटको भेलाबाहेक केही होइन ।

केही पहिले, सायद त्यो कमरेड तुलसीलाल अमात्यको स्मृति दिवस थियो, कमरेड माधव नेपालले यो पार्टी फुट्दैन, फुटाउन दिइँदैन, भएछ भने चोइटिने हो भनेर बोल्नुभएको थियो । आज उहाँको त्यो भनाइ पुष्टि भएको छ । पार्टी फुटेको छैन, चोइटिएको मात्र हो ।
पार्टी भनेको विचार हो, विधि हो । यो विश्वव्यापीरूपमा स्थापित सत्य पनि हो । विचारको दृष्टिकोणले योचाहिँ पार्टी हो, यो हल बनाएर जो हामी बसेका छौं, मार्क्सवाद, लेनिनवादका सिद्धान्तहरुलाई आत्मसाथ गर्दै समाजवाद निर्माणको आधार तयार पार्दै रणनीतिक उद्देश्यप्रति इमान्दार भएर देशमा समाजवादी अर्थतन्त्र, समाजवादी राजनीति र समाजवादी संस्कृतिको संरक्षण गर्ने संकल्प गर्दै हामी यो बैठकमा भेला भएका छौं ।

माधवजी, झलनाथजीले अघि भनिसक्नुभयो, त्यही कुरा म दोहोर्‍याउन चाहन्नँ । तपाइर्ंहरुले १० पृष्ठ लामो आरोपपत्रको खण्डनमा मैले लेखेको ७ पृष्ठको पत्र हेर्नुस् वा हामी सबै मिलेर तयार पारेको १९ पृष्ठको प्रस्ताव हेर्नुस् । त्यहाँ समाजवाद, मार्क्सवाद र पार्टी निर्माणको योजना छ ।

तपाईं सबै कमरेडहरुले हेर्नुभयो भने केन्द्रीय समितिको बैठक, पोहोरको अध्यादेशदेखि असार(साउनमा उहाँले एमाले दर्ता गरेदेखि, यो कार्यदलले ल्याएको प्रतिवेदनमा जबरजस्ती सही गराएको भन्नेदेखि सर्वसम्मत निर्णय भए पनि दुई दिनपछि म मान्दिनँ भनेर निहु खोज्यादेखि उहाँले हरेकपटक त पार्टी फुटाउनु भएकै छ । हामीले हरेक पटक फुटबाट जोगाउनुपर्छ, जनता फुट चाहँदैनन्, कार्यकत्रा फुट चाहँदैनन् भन्दै हामीचाहिँ फेरि सोझो नै भएर, लचिलो नै भएर जाँदै थियौं ।

पछिल्लो म भन्छु, उहाँले त हठात् अध्यादेश ल्याइदिनुभयो संवैधानिक परिषदसम्बन्धी । पार्टीको बैठक चलिराख्या छ । म बीच बीचमा बालुवाटार जाने नै गरिराख्या थिएँ । मलाई जानकारी पनि छैन । बैठकलाई जानकारी पनि छैन । उहिलेदेखिको संवैधानिक परिषदको खाली ठाउँ नियुक्ति गर्नलाई सहमतिबाट गर्नुपर्छ भन्ने भएकै थियो । र, सहमतिको प्रस्ताव बनाउनका लागि शेरबहादुर देउवा, प्रधानमन्त्री समेत बसेर प्रस्ताव बनाउने अनि सचिवालयमा लगेर मात्रै गर्ने भन्ने हाम्रो ५/७ महिनादेखिको कुराकानी थियो ।

तर, योपटक एकचोटि सुइँको पनि नदिइकन अचानक, आकस्मिकरुपले अध्यादेश लिएर आउनुभयो । त्यसको विरोध गर्‍यौं हामीले । सबैतिर बिरोध भयो । अब उहाँले त हाम्रो सोझोपन, हाम्रो लचिलोपन, हाम्रो इमान्दारितालाई कमजोरी ठान्दै पार्टी त फुटाउनेतिरै आयो भनेपछि हामीले पनि यसको प्रतिवाद त गर्नपर्‍यो भनेर ८३ जना माननीयहरुको हस्ताक्षरसहितको समावेदन राष्ट्रपतिकहाँ लिएर अधिवेशन छिटो बोलाउन लिएर गयौं । कमरेड भीम रावल र पम्फा भुसाल ६/६ घण्टा बस्दा पनि दर्ता हुँदैन । के भयो यो देश ? ८३ जना सांसदको हस्ताक्षर छ, पार्टीका दुईजना बरिष्ठ नेताहरु जानुभएको छ । तर, ६ घण्टा बस्दा पनि दर्ता हुँदैन् ।

यसबाट हाम्रो विधि विधानको स्थिति के छ नेपालको भन्ने पनि झल्किएको हो । तर, पनि हामी पार्टी एकताचाहिँ यताउति हुन हुन्न भन्नेखाले परियो नि त । हामी अलिकति मुडे बल गर्नेखालको परिएन । त्यसो भएपछि यहाँ घनश्याम भुसाल हुनुहुन्छ, उहाँ अलि बढी त्यो दिन दुर्घटनाबाट बचाउँ भनेर अलि बढी सक्रिय हुनुभयो । उहाँसँगै म पनि सक्रिय भएँ । र, त्यो अध्यादेश पनि फिर्ता लिउँ र त्यो समावेदन गर्न गएको पत्र पनि फिर्ता लिउँ र जाउँ भनियो ।

लामो कच्याक कच्याक भएपछि उहाँले हुन्छ, फिर्ता लिन्छु भन्ने शर्त त मुखबाट निकाल्नुभएन । तर, पनि ल त्यही गर्ने भने । महासचिवसहित अरु साथीहरुले लौ त्यही गर्ने भनेपछि लौ त त्यही गर्ने, जाउँ बैठकमा, बरु दुई दिन अरु रोकौं भनेर आइयो । बैठकमा उहाँले स्थायी कमिटीमा धेरै छौं यहाँ, हामी सबैले सुनेका छौं, संवैधानिक परिषदको बैठक भएको छैन । पदाधिकारीहरु नियुक्त भएका छैनन्, मैले भएको छैन भनेपछि सिद्धिहाल्यो नि भन्नुभयो । उहाँले भनेको यही हो । उहाँले फिर्ता लिन्छु भन्ने शब्द त प्रयोग गर्नुभएन । सर्वसम्मत निर्णय भयो, फेरि दुइटै फिर्ता लिने भन्ने । उहाँसमेतको विरोध र नोट अफ डिसेन्ट त छैन ।

तर, अहिले त छ्याङ्ग देखियो नि, भइसकेको रहेछ निर्णय त । सबै पदाधिकारीहरुको निर्णय नै भइसक्या रहेछ । हस्ताक्षर पनि भइसक्या रहेछ । भनेपछि प्रधानमन्त्री जस्तो मान्छेले पार्टी अध्यक्ष जस्तो मान्छेले यस्तो ढाँटछलको राजनीति गर्न हुन्छ त रु नाङ्गै, यस्तो पनि हुन्छ त रु यस्तो देशको गति के हुन्छ रु यस्तो पार्टीको गति के हुन्छ रु प्रमुख नेता नै यस्तो छली भएपछि यो पार्टी के भयो त अब रु पछि त हो रहेछ । अथवा, ब्याकडेटमा गरे पनि त बेइमानी भयो नि त । उहाँ ८३ जनालाई फिर्ता गराइसक्ने अनि आफु, चाहिँ फेरि अगाडि जाने । हामीले त रोक्यौं । फेरि पनि ल ठीक छ, अझै अन्तरक्रिया गरौं भनेर बसिराखेकै थियौं ।

त्यो दिन बिहान, जुन दिन संसद विघटनको प्रस्ताव भयो । साँढे ५ बजे बिहान मैले थाहा पाएँ । उहाँ मुड बनाएर, तयारी भइसक्यो । थाहा पाएपछि मेरो त्यो जसरी पनि रोक्नुपर्छ भन्ने भयो । माधवजी एक्सरसाइजमा बस्ने बेलामा पनि अनेक गरेर अरुलाई लगाएर उहाँलाई सम्पर्कमा, झलनाथ जीलाई सम्पर्कमा, अरु साथीहरुलाई सम्पर्क गरेर यस्तो हुँदैछ भन्ने भयो । त्यही दिन विष्णु पौडेल आउने कुरा थियो । मैले जनार्दनलाई पनि लौ न यहाँ त दुर्घटना हुन लाग्यो तुरुन्तै आउनुस् त भन्दा आधा घण्टा भन्नुभयो । होइन, दौडिनुस् भनें । अरुसँग पनि फोन गरेर के छन् सूचना भनेर बुझ्ने कोसिस गरेँ ।

लास्टमा चाहिँ केपीजीलाई नै फोन गरेँ । आज तपाईंहरु एक्स्ट्रिम डिसिजन गर्नेतिर जानुभएको छ रे भन्ने सुन्छु, हामी त लगातार अन्तरक्रियामै छौं, गृहकार्यमै छौं, उपाय खोजी गर्ने भनेर भनिरराख्या छौं । अहिले पनि शंकर पोखरेलसँगै बसिराखेकै छु, सुवाससँग पनि कुरा भइराखेकै छ भनें ।

‘होइन तपाईंहरुले मलाई जसरी पनि हटाउने, जसरी पनि उ गर्ने भन्ने देखेँ । त्यसो भएर मचाहिँ अब अलिकति नयाँ ढङ्गले सोच्दैछु । तर, टुङ्गो त छैन भन्नुभयो । मैले भनेँ, मसँग एकचोटि कुरा नगरिकन कुनै डिसिजन नगर्नुहोला । लास्ट कुरा गरौं, गम्भीर ढङ्गले कुरा गरौं, दुईरचार घण्टा, केही पनि निस्केन भने तपाईंले सकेको तपाईंले गर्नुहोला, हामीले सकेको हामी गरौंला, त्यसकारण अहिले त्यो बिन्दु आइपुगेको छैन । म आउँछु, एकरदुई घण्टा कुरा गरौं, अनि के गर्नपर्छ गरौंला भनेर मैले ११ या साँढे ११ मा खाना खाएर आउँला भनें । त्यतिञ्जेलसम्म दुईटा विकल्प सोच्या छु पनि भन्या छु है मैले ।

दुईटा विकल्पबारे तपाईंसँग छलफल गर्ने मैले राति सोचेर बस्या छु, ती दुईटा विकल्प म तपाईलाई भन्छु । ती दुईटा विकल्पभित्र कहिँ कुरा मिल्ने देखियो भने फेरि गृहकार्यका लागि एकरदुई दिन बैठक रोकेर फेरि गरौंला पनि भन्या छु मैले । त्यो कुरा कमरेड जनार्दन र शंकरलाई पनि थाहा छ । त्यो कुरा हुन्छ भन्नुभयो उहाँले । फेरि, ठीक छ, तपाईं राम्ररी आउनुस्, कुरा गर्ने भन्नुभयो । म ढुक्कसँग अबचाहिँ भेट नभई केही पनि गर्ने हुनुभएन भन्ने पर्‍यो ।

तर, एक छिनपछि त उहाँले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएको भन्ने खबर आयो । आकस्मिक बैठक बोलाएको केका लागि होला, त्यही पो हो कि भन्ने भयो । किनभने, उहाँलाई के सूचना गएछ भन्ने मैले थाहा पाएँ । १० बजे हामीले अविश्वासको प्रस्ताव दर्ता गर्दैछौं नम्बर एक । साथसाथै राष्ट्रपतिलाई महाअभियोग लगाउने पनि सम्भावना छ भन्ने कसैले उहाँमा हालिदियो वा उहाँले त्यो कथा बनाउनुभयो, मलाई अहिले ठ्याकै यही भन्ने थाहा छैन । म ११ बजे आउँछु भन्नुको अर्थ उहाँले बुझ्नुभएछ( १० बजे गएर प्रस्ताव व दर्ता गर्ने र ११ बजे आउँछु भनेको बुझ्नुभएछ र हत्त न पत्त मन्त्रिपरिषद बोलाउनुभएछ ।

अनि मैले पनि तपाईंले मन्त्रिपरिषद बोलाइहाल्नुभएछ, त्यसो भए मन्त्रिपरिषद अगाडि नै भेटौं, म हिडिहालेँ, तपाईं मसँग कुरा नगरी मन्त्रिपरिषद बैठकमा नजानुहोला है, यति अनुरोध मान्नुहोस् भनें । हुन्छ भन्नुभयो । हुन्न भनेको भए पनि एउटा कुरो, हुन्छ भनेपछि म तुरुन्तै गाडी निकालेर दौडिएँ । उहाँले ९ः४५ मा मन्त्रिपरिषद बोलाउनुभएको थियो, म ९ः५० मा पुग्या थिएँ । उहाँ त राइट टाइममा मन्त्रिपरिषद गइहाल्नुभएछ ।

त्यहाँ सुवास नेम्वाङ र शंकर पोखरेल हुनुहुँदोरहेछ माथि कोठामा । म त्यहाँ गएँ । राजेश पनि त्यहीँ । खोइ त प्रधानमन्त्री ? छलफल गर्ने भनेको त, भनेँ । उहाँ सचिवालयतिर जानुभएको छ, पाँच मिनेटमा आउँछु भनेर जानुभा’छ राजेशको जवाफ त्यो थियो । बस्नु न चिया खाँदै गर्ने भन्ने छ ‘ । विघटन त पाँचै मिनेटमा हुन सक्छ । त्यो तयार नै छ क्यारे, यसो विघटन भन्दिने कुरा मात्रै हो, प्रस्ताव गर्ने कुरा न हो । भनिदिने न हो भन्ने भयो ।

मैले सुवासजीलाई कुरो के हो ? मैले भेट्छु भन्दाभन्दै एकछिन, एकघण्टा कुरा गरेर गएको भए नि हुन्नथ्यो नि भनें । सुवासजीले भन्नुभयो ‘त्यो अध्यादेश फिर्ता लिन जाँदैछु म एकछिनमा आउछु भन्नुभा’छ । अध्यादेश पो फिर्ता लिन जानुभएको, कहाँ संसद विघटन त हुँदैन भन्नुभयो उहाँले । अलि राहत मिल्यो मलाई । ए त्यसो भए त ठिकै छ भनेर चिया खाने भनेर ब्ल्याक टी मा मसला पनि हालेर खाइयो, मजाले बसियो । एक छिनपछि त मन्त्रिपरिषदबाट म्यासेज आयो, एउटा संसद विघटनको सिफारिस भयो भनेर । त्यसपछि चिया खान पनि मन लागेन ।

बसिराख्या थिएँ, उहाँ (ओली) आउनुभयो । केही बोल्ने कुरा पनि अभाव जस्तो भयो क्या १ प्रस्ताव त गरि नै सक्नुभयो उहाँले । मैले गरि नै हाल्नुभएछ क्यारे, अहिले त यत्तिकै गर्ने कुरा के भयो र भनेँ । उहाँले हैन, अब त चुनावमा जानुको विकल्प छैन भन्नुभयो । मैले केको चुनाव रु तपाईंलाई चुनाव रु भनेँ ।

योखालको छलछाम क्या ! लास्टमा कि त भनिदिए हुन्थ्यो नि, अब तपाईंसँग भेट्नुको अर्थ छैन भनिदिए पनि त हुन्थ्यो नि । आउनुस् भनेर दुईटा टाइम फिक्स गर्ने । अनि नभेटी, छलफल नगरिकन गर्ने ।

उहाँ आएपछि अब तपाई १०र१५ मिनेट बस्नुस्, म राष्ट्रपतिकहाँ गएर आउँछु भन्नुभयो । राष्ट्रपतिकहाँ गएर तपाईले स्वीकृत गराउने त होला, किन बस्नु म भनेँ । त्यो सुवासजी, अरुले पनि सुन्नुभएको छ । उहाँले के भन्नुभयो भने राष्ट्रपतिलाई स्वीकृत नगरिहाल्नुस् भनेर आउँछु । म लाटो भन्ने कि रु हो कि क्या हो, राष्ट्रपतिलाई स्वीकृत नगर भनेर सल्लाह गर्न खोजेको हो कि भनेको जस्तो लाग्ने ! अनि मैले तपाई राष्ट्रपतिकहाँ जाने आउने गर्दा ढिला हुन्छ, म खाना खाएर आउँछु १२ बजेतिर भनेँ । तर, त्यहाँ बस्दाबस्दै स्वीकृत भएको खबर आइहाल्यो । यस किसिमको जालझेल र छलछामको तरिका अपनाइयो ।

(प्रतिनिधिसभा) विघटन भइसकेपछि हामीले केही अधिवक्ताहरुसँग पनि भेट्यौं, राय सल्लाह दियौं । देशको कुनै पनि संविधानविदले यो संविधानअनुकुल छ भनेको छैन । यो असंवैधानिक छ नै भनेका छन् । पूर्वप्रधानन्यायाधीशहरुको लामो लिस्ट नै छ, यसले यो असंवैधानिक छ, अलोकतान्त्रिक छ भनेका छन् । वामपन्थी खालका कानूनविदहरुले त यो हुनै नहुने, संविधानले परिकल्पना नै गरेको छैन, पहिला त संविधानमा विघटनलाई प्रधानमन्त्रीको विशेषाधिकारको रुपमा थियो । र, पनि मिल्यो मिलेन ? राजनीतिकरुपमा फाइदा भयो भएन भने बहस हुने गथ्र्यो । अहिले त संविधान बनाउनेबेला नै हामीले प्रधानमन्त्रीलाई विशेषाधिकार दिँदा जहिले पनि राजनीतिक अस्थिरता भइराख्ने भयो, प्रधानमन्त्रीलाई झोक चल्यो भने स्वाट्ट विघटन, नयाँ जनादेश भन्यो । देशमा जहिले पनि राजनीतिक भूमरि भइरहाख्ने भयो भनेर घन्टौं छलफलपछि यो हटाइएको हो । त्यसकारण संसद भंग भएको छैन भनेका छन् ।

सुन्नुस्, है कमरेडहरु । भंग भएको केपीको सरकार हो । संविधानतः अस्ति विघटनको सिफारिस भएपछि केपी सरकार भंग भयो, बैधानिक ढंगले संसद भंग भएको छैन । किनकि यसरी संसद भंगको परिकल्पना नै गरेको छैन संविधानले । एउटा परिस्थितिमा मात्र संसदभित्र पहिलो, दोस्रो, तेस्रो, चौथोमा पुग्दा पनि सरकार दिन सकेन भने संसद विघटन हुनसक्ने व्यवस्था छ । यहाँ त बकाइदा संसदमा अर्को सरकारमा बनाउने पूरै सम्भावना छ । त्यतातिर नगई संसद भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले दिएको छैन । सबैले यही भनेका छन् ।

निहित राजनीतिक स्वार्थ भएकाहरुले ठीकै छ, जेजे भए पनि भाँडमा जाओस् भन्नेलाई के भन्नु र । तर, जिम्मेवारीपूर्वक भन्नेहरुले यो असंवैधानिक छ, अलोकतान्त्रिक छ भनेका छन् । त्यसकारण हामीले के ठान्नुपर्‍यो भने संविधानतः संसद जीवित छ । मैले हिजो माननीयज्यूहरुलाई पनि के भनेको छु भने हामी मर्‍यौं भन्ने ठान्नुभएन । मरेकै छैनौं । मर्‍यौं भन्ने ठान्यौं भने बर्बाद हुन्छ । हामी मरेका छैनौं, हामी जीवित छौं ।

हामी अदालतमा जानुपर्छ, प्रक्रियामा त जानुपर्‍यो । हामी बहुसंख्यक माननीयज्यूहरुले अदालतलाई भन्छौं, सरकार गठनको सम्भावना छ, विघटन भएको सरकार हो, संसद होइन श्रीमान । हामी यति छौं, संसद विघटन भएकै छैन भन्ने मान्यता राख्छौं । कानूनविदहरुले पनि बेठीक भयो भनेका छन् । मिल्दै नमिल्ने काम गर्न पाइन्छ भनेर जानुपर्‍यो । आज हामीले रिट हालेका पनि छौं ।

हिजो हामीले कांग्रेस र जसपासँग छलफल पनि गर्‍यौं । हामीले कानूनी मोर्चामा पनि, राजनीतिक मोर्चामा पनि मिलेर जानुपर्छ भन्नेमा हाम्रो सहमति भएको छ । आज हामी पनि केन्द्रीय कमिटी बैठकमा, कांग्रेस पनि केन्द्रीय कार्यसमिति बैठकमा, जसपा पनि बैठकमा छ । र, बैठकहरुबाट आइसकेपछि साझा कार्यक्रम बनाउने भनेर उठेका छौं हिजो । हामी लिडिङ पार्टी हौं, त्यसकरण हामीले संसद विघटन बैध छैन, अवैध छ, संविधान अनुकुल छैन, असंवैधानिक छ, लोकतन्त्र अनुकुल छैन, अलोकतान्त्रिक छ भनेर कानूनी उपचार र सडकमा पनि दृढताका साथ जानुपर्छ ।

संसद भंग भयो, ६ महिनापछि चुनाव हुन्न भन्ने जस्तो गर्न खोजिएको छ, त्यस्तो होइन । यसका पछाडि सम्पूर्ण राजनीतिक कोर्ष बदल्ने षड्यन्त्र अन्तरनिहीत भएको देखिएकै छ । सम्पूर्ण चिज प्रतिगमनतिर लैजाने षड्यन्त्र अन्तरनिहीत छ । यति जालझेल, अपारदर्शी छ भने केपीले मूर्ख भएर मात्र गरे भनेर चुनाव हुन्छ होला भनेको ठान्नु ठूलो गल्ती हुन्छ ।

हामीलाई अझै पनि अदालतप्रति भरोसा छ । अदालतले पक्कै पनि संविधानका प्रावधानहरुको गहिरो अध्ययन गरेको छ र गर्नेछ । जनभावना र राजनीतिक दलहरुको भावना के छ भन्ने पनि हेर्नेछ र यो असंवैधानिक, अलोकतान्त्रिक निर्णयलाई समर्थन गर्ने छैन । देशको स्थिरताको पक्षमा निर्णय गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

तर, फेरि यदि सडकमा हामीले जनतालाई राम्रोसँग प्रशिक्षित, परिचालित र आन्दोलन गर्न सकेनौं र भइहाल्छ भन्ने सोचियो भने देश दुर्घटना त गएकै छ, अझ ठूलो दुर्घटनामा जाने खतरा छ । अकल्पनीय क्षति व्यहोर्नुपर्ने, अझ कयौं वर्ष लड्नुपर्ने खतरा पनि छ कमरेडहरु । त्यसो भएर हामीले जनतामा जाने, जनपरिचालन गर्ने, सडकमा जोडतोडले लाग्न त्यतिकै आवश्यक छ । हामीले अहिले पनि जनवर्गीय संगठन र पार्टीलाई आ(आफ्नो ठाउँमा जे(जे सकिन्छ, गर्दै रहने त भनेका छौं । तर, यो केन्द्रीय कमिटीको बैठकबाट ठोस कार्यक्रम बनाएर जानुपर्ने हुन्छ । त्यो कार्यक्रम अनुसार तलबाट सशक्त दबाव सिर्जना गरिएन भने माथिबाट मात्र हुन्छ भन्नेर सोच्ने स्थिति छैन ।

कमरेडहरु, हामी यो बैठक आजै सक्दै छैनौं । भोलि हामी फेरि संसदीय दल बस्दैछौं । पर्सि केन्द्रीय समितिको अर्को बैठकमा अर्को प्रस्ताव पनि वितरण गरिन्छ, के भएको हो भन्नेबारेमा । त्यो पनि गर्ने र कार्यक्रमको सेट पनि बनाउनुपर्छ । धेरै लामो बैठक मात्र गरेर पनि हुँदैन । आवश्यक छलफल गरेर विचार, राजनीति, संगठन, अहिलेको परिस्थितिबारे हामी सबै स्पष्ट भएर दौडिनुछ । मलाई विश्वास छ, हामी यति गर्न सक्छौं ।

हुन त केपीजीलाई लाग्यो होला, सबै पन्छायौं । अब उहाँले ११९९ को महाधिवेशन आयोजक समिति बनाउनुभएको छ, त्यही ध्वाँस लगाउने होला । हामी ११०० तिर जानेवाला छैनौं, यही ३१५ ठीक छ । एकीकृत पार्टीको केन्द्रीय समितिका ४४१ को खाली ठाउँमा केही थपौंला, विचार गरौंला । संख्या, नेतृत्व, विचार, विधि सबै हिसावले यो पार्टी हो, त्यो गुट हो । त्यो षड्यन्त्रकारी नेतृत्वअन्तरगत भयो भन्ने आरोप हाम्रो छ ।

तर, यति हुँदाहुँदै पनि हामीले भनेका थियौं, १९ पेजको जस्तावेजको लास्टतिर हेर्नुभयो भने केपी ओलीलाई गम्भीर आत्मसमीक्षा, आत्मालोचना र केही त्याग गर्नुस् पार्टी एकताका लागि । यदि केपी ओली कमरेड अझै पनि मैले गल्ती गरे, देशप्रति घात भयो, लोकतन्त्रप्रति घात भयो, संविधानप्रति घात भयो, मैले साथीहरुको भावनामा घात गरेँ ….। राष्ट्र, जनता, पार्टी, आन्दोलनप्रति मेरो कदमले घात भयो भनेर स्वीकार गरेर आउनुभयो भने उहाँलाई यथोचितरुपले राख्न तयार हुन्छौं । यस्ता मान्छे हौं हामी ।

आत्मसमीक्षा गर्दा संसद भंग गर्न सिफारिस गरेर गल्ती गरेँ, पार्टीका साथीहरुको भावनालाई मैले बुझ्न सकिनँ, गुटमात्र चलाउनेतिर गएँ, म पश्चाताप गर्न चाहन्छु भनेर आउनुभयो भने उहाँलाई स्वागत गर्न तयार हुने मान्छे हौं हामी । तर, उहाँ आउनुहुन्न है फेरि । मैले बुझेको उहाँ आउनुहुन्छ जस्तो त लााग्दैन, अझ परपर भाग्ने मान्छे हो । तर, आत्मसमीक्षा गर्न तयार छु भनेर आउनु भए हामी छलफल गर्न तयार छौं ।

मलाई त उहाँ (ओली) ले असाध्यै षड्यन्त्रकारी भन्नुहुन्छ, धोकेबाज भन्नुहुन्छ । गिरिजालाई धोका दियो, माधव नेपाललाई धोका दियो, उसलाई धोका दियो, भनेर लेख्नुभएको छ । मैले के भनेको थिएँ भने त्यसको जवाफ दिने बेलामा धोकेबाज जिन्दाबाद भन्नुस् । म धोकेबाज नभएको भए तपाई प्रधानमन्त्री नै हुनुहुन्थेन नि । कांग्रेसलाई धोका दिएको भन्न मिल्छ त अहिले रु यो नैतिकता हो त ? भनेको थिएँ ।

(नेकपाको प्रचण्ड माधव समूहको पुस ७ को केन्द्रीय कमिटी बैठकलाई गरेको सम्बोधनको सम्पादित अंश)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

20 − 16 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने