

काठमाडौं,
गएको असोज १ गतेबाट काठमाडौं उपत्यकामा लागु भएको जोर बिजोर प्रणाली शुक्रबारबाट हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले विहीबार एक सूचना जारी गर्दै शुक्रबारदेखि काठमाण्डौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर बिजोर प्रणाली हटेको जनाएको हो ।
जोर बिजोर प्रणालीमा सवारी सञ्चालन गर्दा आर्थिक गतिविधिमा असर पुगेको भन्ने गुनासो प्राप्त भएको र बढी संख्यामा सार्वजनिक यातायात सञ्चालन गर्दा कोभिड संक्रमणको जोखिम समेत कम हुने हुँदा सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ पालना गर्ने गरी जोर बिजोर प्रणाली हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले जानकारी दिनुभयो । मापदण्ड पालना नगरी सवारी साधन सञ्चालन भए नभएको अनुगमन गरिने र मापदण्ड पालना नगरी सवारी चलाएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने समेत उहाँले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी दुलालद्वारा हस्ताक्षरीत सूचनामा भनिएको छ, ‘अत्याधिक भिडभाड कम गर्दै सामाजिक भौतिक दुरी कायम गर्ने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार २०७७ असोज १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको निषेध आदेश बमोजिम काठमाडौं जिल्लाभरी सवारी साधनहरु जोर बिजोर प्रणाली अनुसार सञ्चालन हुने गरी निर्णय भएकोमा विभिन्न व्यवसायिक प्रतिष्ठान, उद्योग कलकारखानाहरुले जोर बिजोर प्रणालीमा सवारी सञ्चालन गर्दा आर्थिक गतिविधिमा असर पुगेको भन्ने गुनासो प्राप्त भएको साथै जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रीहरुको चाप झन बढी भएकोले सर्वसाधारण यात्री महानुभावहरुको सुविधाको लागि बढी संख्यामा सार्वजनिक यातायात सञ्चालन गर्दा कोभिड संक्रमणको जोखिम समेत कम हुने हुँदा कोभिड संक्रमण अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ पालना गर्ने गरी मिति २०७७ पुस ३ गते विहानदेखि लागु हुने गरी काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको व्यहोरा सबै नागरिकहरुमा अनुरोध छ ।’
विहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो । कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ ।


