

सिन्धुपाल्चोक,
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको नेपालकै साहसिक पासको रूपमा परिचित तिलमानपासको सरकारी तवरबाट पहिलो पटक प्रारम्भिक अध्ययन सकिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा प्रारम्भिक अध्ययनका साथै पाँचपोखरी पिक र युवा पिकको आरोहण तथा नामाकरण गरिएको वडा नम्बर २ का भोताङका अध्यक्ष ङिमा छिरिङ तामाङले जानकारी दिनुभयो ।
‘पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा नेपालकै साहसिक पासको रूपमा परिचित तिलमानपासको सरकारी तवरबाट पहिलोपटक प्रारम्भिक अध्ययनको साथमा पाँचपोखरीमा पहिलोपटक रकक्लाइम्बिङको सफल परिक्षण गरिएको हो ।’ वडाअध्यक्ष तामाङले भन्नुभयो, ‘पाँच वटा पिकको आरोहण तथा पाँचपोखरी पिक नामाकरण, युवा पिकको आरोहण तथा नामाकरण कार्य सफलतापूर्वक सम्पन्न भएको छ । यस अभियानमा साथ र सहयोग गर्नुहुने सबै सहयोगी हातहरूलाई हार्दिक आभार व्यक्त गर्दछु ।’
पाँचपोखरी पिक र युवा पिक हिमालको पहिलो पटक आरोहण तथा नामाकरणको काम सकेर अध्ययन टोली ग्यान्जेङ गुम्बा लाङटाङ आईपुगेको अध्ययन टोलीका सदस्य समेत रहनु भएका वडाअध्यक्ष ङिमा छिरिङ तामाङले बताउनुभयो । मंसिर २६ गते शुक्रबार १२ बजेर २६ मिनेटमा टोलीले युवा पिक आरोहण गरेको उहाँको भनाई छ ।
सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ६ जनाको आरोही टोली र २ जना माउन्टेन गाईडले ५ हजार ३ सय मिटरको तिलमानसपास पाँचपोखरी पिक र ५ हजार ५ सय ५६ मिटरको युवा पिकको पहिलो पटक सफलताका साथ यात्रा पुरा गरेको हो । सगरमाथा अरोही माया गुरुङको नेतृत्वमा गएको टोलीमा आरोही कान्छीमाया स्याङबो तामाङ र दावा शेर्पा साथमा युवा नेता सोमर बोम्जन, मिलन तामाङ, वडा नम्बर ३ भोताङका अध्यक्ष ङिमा छिरिङ तामाङ सहित ८ जना सदस्य रहेका छन् ।
काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य रहेको र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको तिलमानपास पाँचपोखरी थाङपाल गाउँपालिकासँग जोडिएको छ । उक्त पदमार्ग खुलाउन अध्ययन हुन लागेको र नयाँ हिमालको नामकरणका लागि अध्ययन र आरोहण गरिएको गाउँपालिकाले जनाएको छ ।

पर्यटन प्रवर्दन तथा स्थानीय तहको विकासको पहिचानलाई आधार गन्तव्य पहिल्याउँदै पाँचपोखरी थाङपाल गाउँपालिकाले तिलमानपास अध्ययन, पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणका निमित्त आरोहण टोलीलाई मंसिर १९ गते बिदाई गरिएको थियो ।
यो अध्ययन भ्रमणले पाँचपोखरीलाई धार्मिक तथा तथा साँस्कृतिक रूपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा अगाडि बढ्ने गाउँपालिका अध्यक्ष टासी लामाको भनाई छ ।
तस्वीरहरुः ङिमा छिरिङ तामाङको फेसबुकबाट ।




