कविता ः शीर्षक एक पागल तिमीलाई कुरिरहेछ
चिसो मौसम
जुनेली रात पछि
बिहानीको चिसो सिरेटोले
तिम्रो स्पर्श बोकेर आउँछ।
लाग्छ
बिहानीपख उदाउने
घामको किरण
हातमा चिया बोकेर
मेरो निधार चुम्न आइपुग्छ
तिमी बनेर।
छरपस्ट छन्
सम्झनाका तरेलीहरू
सल्बलाइरहेछन्
रहरका वायुपंखीहरू।
अझ भनौँ
तिम्रो सामीप्यताको
कल्पना मात्रै पनि
जिन्दगी जिउने बहाना बनिदिन्छ।
अब भन
आकाशले जूनलाई
धेरै माया गर्छ कि मैले तिमीलाई ?
कस्लाई
के बढी आवस्यकता छ ?
शरीरलाई अक्सिजन
या मनलाई तिमी।
राख्न मन छ एउटा प्रतिस्पर्धा
आफ्नै फोक्सो सँग
र जित्न मन छ एउटा
सामीप्यताको स्वर्णपदक।
यी आँखाहरू निदाउन छोडिसके
तिम्रा यादहरूले
परेलीहरू झिम्किन बिर्सिसके
आगमनको प्रतीक्षाले
आँगनीको छेउमा
तिमी जस्तै मुस्कुराउने
गुलाफ फुलिसक्यो
गुलाफको वरिपरी
पुतली डुलिसक्यो
आउ प्रिया
मनले तिमी खोजिरहेछ।
केवल तिमी खोजिरहेछ।
हो
बाटोभरी हृदय बिछ्याएर
स्वागतार्थ
एक पागल तिमीलाई कुरिरहेछ।
✍️रमेश न्यौपाने राधाकृष्ण(दोलखा)