म खसी । पासाको मासु पसलमा बाँधिएको, आफ्नो मृत्युलाई पर्खीबसेको संसारकै खुसी खसी । चार खुट्टा, एक मुख, एक नाक, दुई आँखा, दुई कान, र एउटा पुच्छर भएको न त पहाडको न त तराइँको न त हिमालको नै । बस् मात्र एउटा जनावर । अरु जनावर जत्तिकै चेतनशील । मानिसभन्दा धेरै कम विवेकशील तर भेडा भन्दा केहि विवेकशील । मानिसहरुले पनि त उदाहरण दिदा कस्तो भेडो रहेछ भन्छन्, कस्तो खसी रहेछ भन्दैनन् क्यारे । तर मानिसलाई के थाहा ? त्यही भेडाको मासु हाम्रो भन्दा मिठो, स्वादिलो र पोषिलो हुन्छ भनेर ।
हामी विभिन्न जातका हुन्छौं । कोहि लाम काने, कोहि मुडुले, कोहि बुटुने आदि आदि । हामी जो जुन जातको भए पनि मानिसले हामीलाई स्वादिलो भोजनको रुपमा ग्रहण गर्छन । त्यसैले अहिले हाम्रो माग दिनप्रतिदिन बढिरहेको छ । माग सँगै हाम्रो मासुको मूल्य पनि बढिरहेको छ तर हामीले खाने घाँस र दानाको मात्रा भने दिनप्रतिदिन घटिरहेको छ ।
म भोलि मर्दै छु । मैले जति कराए विन्तीभाउ गरेता पनि मेरो मृत्यु टर्ने छैन । मैले कुनै पनि हालतमा काटीनु पर्छ र मानिसको मिठो परीकार बन्नुपर्छ । मर्नु नै छ त अहिले नै चिन्ताले किन मर्नु ? जति दिन बाँच्छु हाँसी हाँसी बाँच्छु यहि सोचेर चिन्ता नै गर्न छोडी दिइ सकेको छु ।
झण्डै अस्ति नै मरी सकेको थिएँ । पासाले च्याप्प घाँटीमा समाइ सकेको थियो । खै के सोच्यो कुन्नि ? मलाई छोडेर नजिकैको साथिलाई समातेर लग्यो । विचरा हाम्रो साथी छिनमै परलोक भयो ।
एक एक गर्दै सबै साथीहरु सकीए, अब भने म मात्र बाँकी छु । मानिसको जस्तो विवेक भएको भए, मलाई बाँधेकोमा विरोध गर्थे । डोरी चुँडाउने जुक्ती निकाल्थें । डोरी फुकाउने विभिन्न वाहाना बनाउथे, त्यतीले नभए साथीहरुलाई एक जुट गराएर जुलुस निकाल्थे, आन्दोलन गर्थे, चक्का जाम गर्थे, धर्ना बस्थे, अनि नेपाल बन्द गर्थे तर के गर्नु आफू परीयो विवेक शून्य त्यसैले दिनभरी भोकै भए पनि म्या गरेर कराउन मात्र सक्छु ।
हिजो त पिटे पनि । मात्र भोलिसम्मको पाहुनालाई पनि के पिटेका होलान्? भोक लागेर आन्द्रा भूँडी नै बटारीन लागे पछि त कराउनै पर्यो नि । यो पासा त सारै लोभी पो रहेछ । नून र सोडा मिसाएको फोहर पानी मात्र दिन्छ । घाँस दानाको मूल्य बढ्यो रे । अझ हिजो र अस्ति त ईन्जेक्सन पनि हान्यो । भोको पेट त्यसमाथि ईन्जेक्सनको दुखाई मलाई त कत्ति पिडा भयो । खै ! यिनीहरुलाई के विवेकशील भन्नु ? अरुको त दुख र पिडा नै देख्दैनन् । अर्को पासाकोमा परेको भए सायद पेटभरी खाना र सफा पानी दिन्थ्यो कि ?
यहाँ मानिसले नै भोक लाग्यो भनेर कराउँदा त खाना पाउँदैनन् भने म जाबो जनावर न हुँ, अनि मैले कसरी पाउनु ? सायद भाषा पो नबुझर हो कि ? नत्र जाबो घाँस र पानी पनि पेटभरी दिन्थेनन् होला त ? तर जे होस्, आफ्नै स्वार्थमा कुदिरहेका, महँगीले थिचीएका, वेरोजगारीले पिल्सीएका, विचलित अशान्त मानिसहरु देखेर भोक नै विर्सन्छु । जब राती हुन्छ, आन्द्रा भुँडी नै बटारीन थाल्छन् अनि म्या गरेर कराउनु वाहेक अन्य कुनै विकल्प हुदैन ।
आहा ! कति रमाइलो थियो मेरो अतित । म र एक बहिनीलाई जन्म दिएकी थिइन आमाले । सानोमा म र मेरी बहिनीलाई सबैले माया गर्थे । घरको आँगनमा उफ्रियो अनि घरभित्र पसेर जे पायो त्यही खायो । बारीको कात्ला कात्ला चढ्यो, हरीयो मिठो घाँस छानी छानी खायो । कति रमाइलो थियो हाम्रो वालापन ।
सबैले मुनि मुनि भनि बोलाउथेँ । मिठो मिठो खाना र हरियो घाँस खान दिन्थे । जसले बोलाए पनि म जान्थे अनि मानिसले मलाई काखमा बोकेर माया गर्थे । अझ मालिकको कान्छो छोराले त एकदमै माया गथ्र्यो । कहिले काँहि खाफूसँगै सुताउथ्यो । बनमा चर्न जाँदा म थाकेपछि उसैले बोक्थ्यो ।
विस्तारै हाम्रो बृद्धिसँगै हामीलाई बाँध्न थालियो । जहाँ पायो त्यही जान दिइएन । यसैक्रममा एक दिन मेरा मालिकले बहिनीलाई एउटा मानिससँगै पठाइ दिए । म पनि बहिनीसँगै जान चाहान्थे तर मलाई बाँधिएको थियो त्यसैले म्या गरेर बहिनीलाई बिदा गरें । त्यसको केहि दिनपछि एकाविहानै मलाई मालिकले अरु धेरै साथीहरु भएको ठाँउमा लगेर छोडी दिए । विभिन्न रुप रंगका साथीहरु भएकोले मलाई निकै रकमाइलो लागीरहेको थियो । रमाईलोको राम्रोसँग मजा लिन नपाउदै म बेचिएको कुरा थाहा पाएँ ।
म लगायत धेरै साथीहरुलाई एउटै ट्रकमा हालेर काठमाण्डौं लान तयार पारीयो । काठमाण्डौ आउदा हामी सबै साथीहरुले निकै नै सास्ती खेप्नु पर्यो। एउटै ट्रकमा हामी सायौं साथीहरु खाँदिएका थियौं । कति साथीहरु त सास थुनिएर मरे पनि । शरद लागे पनि यो वर्ष पानीले पनि खुव चुट्यो । खै कता हो पहिरोले बाटो बगाएकोले दुइ÷दुइ दिनसम्म ट्रकमा नै बस्नु पर्यो, त्यो पनि भोकभोकै ।
थानकोटको जाम त्यसपछि कलंकीको जामसँगै धुँवा धुलो । पिरो धुँवाले मेरो त आँखाबाट आँसु नै झर्यो । अलि पर मात्रै के पुगेका थियौं, खप्नै नसकीने गरी गन्हायो । म छेउमै भएकोले यता उती हेरें । सडकमा भएको फोहोरको थुप्रो पो गन्हाएको रहेछ । नुवाकोटेहरुले विरोध गरेकाले धेरै दिनदेखि फोहोर नउठेको रे । के गर्नु ? मान्छेको जस्तो हात भएको भए पो नाक थुन्नु, आफ्नो त हात नै छैन त्यसैले एकछिन आफ्नै सास रोके ।
हामी सबैलाई कलंकीमा झारीयो । केहि दिनपछि म लगायत केहि साथीहरुलाई एउटा सानो गाडीमा हालेर बागबजारमा रहेको खसी बजारमा लगीयो । त्यहाँ दुइ दिन बसेपछि म लगायत केहि साथीहरुलाई फेरी अर्को ठाउँमा लगीयो । जहाँ म अहिले बसीरहेको छु र यही ठाँउमा मेरो अन्त्य हुँदैछ ।
म यो ठाउँमा बाँधिएको आज पाँचौ दिन हो । चोक भएकोले विभिन्न थरीका मानिसहरु आवतजावत गरीरहन्न् । यी सय थरी मानिसले नानाथरी आक्रोस् पोख्दै विहानीको समय त्यसै खेर फालीरहेका हुन्छन् । फलानो नेता यस्तो, फलानो नेता उस्तो । फलानो मन्त्री राम्रो भएन, फलानो मन्त्री विदेश जाँदा आफ्ना साखा सन्तानलाई लग्यो । फलानो मन्त्रीले गरेको काम भएन । फलानो मन्त्रीले काम गरकै भएन, भ्रष्टाचार ग¥यो, धारामा पानी आएन, बत्ति आएन, पेट्रोलीयम पदार्थकोे भाउ बढ्यो, सडक पिच भएन, महँगी बढ्यो, देशले प्रगती गरेन, मध्यवती अब चाडै हुन्छ, यो सरकार अब चाँडै ढल्छ । यस्तै यस्तै गफहरु गर्छन यी मानिसहरु ।
यी मानिसहरु पनि अरुलाई गाली गर्दा आँखै चिम्लेर गर्छन । नेता र मन्त्रीको पनि त मुख र पेट छ, परीवार छ । उनीहरु पनि त शान मानमा हिंड्नै पर्यो । आफन्त कार्यकर्तालाई खुसी बनाउनै पर्यो । कमाउने उमेरमा जेल नेल झेलेको, ढाडमा निल डाम हुने गरी कुटाइ खाएको, त्यसको व्याज त निकाल्नै पर्यो नि । फेरी मौका आउँछ आउँदैन ? खै ! कुरा बुझेको ? गाली गर्न पायो भन्दैमा जे पायो त्यहि गर्ने ? नेता मन्त्रीले गरेको राम्रा राम्रा कामको पनि प्रशंसा गर्नु नि ? दिमाखमा खाली नकारात्मक सोच मात्र छ ।
अरुको कामको टिका टिप्पणी त गर्छन, आफ्नो कामको कसले गरी दीनु? आफ्नो काम, कर्तव्य, जिम्मेवारी विर्सीएर तथानाम गाली गर्ने यी मानिसहरुले खाएको चुरोटको धुँवाले अरुलाई कति असर गरेको छ ? भन्ने कुरा सोचेको खै ? उनीहरुले गर्दा फूटपाथमा हिंड्ने मानिस र सडकमा गुड्ने गाडीलाई भएको असुविधामा ध्यान दिएको खै ? छोरा छोरीलाई पढाउनु, श्रीमतीलाई खाना बनाउन सहयोग गर्नु नि ? विहान विहान चोकमा जम्मा भयो, नानाथरी गफ चुट्यो अनि चुरोटको धुँवासँगै जिवन छोट्यायो ।
म साँच्चै भोलि मर्दै छु । म मरे पनि म जन्मेको गोठ, खेलेको आँगन, बन जंगल, मैले टेकेको धर्ती अनि म बाँचेको परीबेश सधै सधै बाँचिरहोस् । अब आउने हाम्रा सन्ततीले मैले जस्तो भोको पेट बस्न नपरोस् र नून् र पानीले मात्र पेट भर्न नपरोस् । हामीलाई इजेक्सन नदिइयोस् । हामी मानिसको मिठो परीकार बन्ने भएता पनि हामी बाँचुञ्जेल हाम्रो खानपिन र रहनसहनमा पनि ध्यान दिइयोस् । अल विदा………….. साथी हो । अल विदा……….. नेपाली हो । अल विदा…………… मानव जाती हो । अल विदा, अल विदा…………………………………………………….।