२०८३ बैशाख १७, बिहिबार
 

मनमोहनपछि ‘प्रचण्ड’लाई ऐतिहासिक समर्थन

prabhu bank home loan

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा अत्यधिक समर्थनसाथ विश्वासको मत पाउनुभएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री ‘प्रचण्ड’ले २६८ मत पाउनुभयो । प्रधानमन्त्रीको विपक्षमा दुई साना दलका तर्फबाट दुई मत मात्र प-यो ।

‘प्रचण्ड’लाई सदनको दोस्रो ऐतिहासिक समर्थन हो । यसअघि नेकपा (एमाले)का तर्फबाट तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सदनमा रहेको उपस्थितिको शतप्रतिशत मत पाएका थिए । अधिकारीले २०५१ पुस ७ गते प्रतिनिधि सभामा भएको मतदानमा १९८ मत पाएका थिए  । २०५ सदस्यीय तत्कालीन प्रतिनिधि सभामा मतदानमा उपस्थित सबै सदस्यको मत अधिकारीले पाएका थिए  । सभाध्यक्षबाहेक उक्त मतदानका क्रममा छ सदस्य अनुपस्थित भएको प्रतिनिधि सभाद्वारा प्रकाशित संसदीय विवरण पुस्तिकामा उल्लेख छ ।

२०५१ सालको राजनीतिक कालखण्डपछि उक्त ऐतिहासिक मत कुनै पनि प्रधानमन्त्रीले पाएका छैनन् । २८ वर्षपछि प्रधानमन्त्री प्रचण्डले सदनमा उपस्थित दुई जनाबाहेक सबैको मत पाएका छन् । ‘प्रचण्ड’लाई आफ्नो दल नेकपा (माओवादी केन्द्र)बाहेक सदनका सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी दलले विश्वासको मत दिएका छन् । यस्तै प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, योगेन्द्र मण्डल, लालवीर चौधरी र प्रभु साहले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका छन् ।

प्रतिनिधि सभामा कांग्रेसका ८९, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका छ, लोसपाका चार र नागरिक उन्मुक्तिका तीन सदस्य छन् । जसमध्ये कांग्रेसबाहेकका अन्य दलका सबै सदस्य उपस्थित थिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विपक्षमा मत दिनुभयो । कांग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले भने प्रधानमन्त्रीको समर्थनमा विश्वासको मत दिए पनि सरकारमा सामेल नहुने संसद्बाटै घोषणा गरेका छन् । यसअघि पनि केही साना दलले संसद्बाट प्रधानमन्त्री चुन्ने क्रममा पक्षमा मत दिए पनि सरकारमा सहभागी भएका थिएनन् ।

मतदानका क्रममा नेपाली कांग्रेसका तीन सदस्य भने अनुपस्थित भएका छन्। अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन मतदानमा अनुपस्थित भएका छन् । भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण कांग्रेसका टेकबहादुर गुरुङको मताधिकार छैन । सभाध्यक्षको भूमिकामा रहनुभएका ज्येष्ठ सदस्यले मताधिकार प्रयोग गर्न पाउदैनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने