

काठमाडौँ – सन २०२१ को अन्त्यतिर एनएमबि बैंकले एसियाकै सबैभन्दा ठूलो अवार्ड प्राप्त गर्यो । बेलायतको ‘दि बैंकर म्यागजिन’ले हरेक बर्ष वितरण गर्ने ‘बैंक अफ दि इयर’ अवार्ड एनएमबि बैंकले प्राप्त गरेको थियो । यसअघि यो अवार्ड एनएमबिसहित नेपालका अरु बैंकहरुले पनि प्राप्त गरिसकेका छन् ।
एनएमबि बैंकले भने पहिलो पटक ‘बैंक अफ दि इयर एसिया’ र ‘बैंक अफ दि इयर नेपाल’ एकैचोटी प्राप्त गरेको थियो । नेपालकै र एसियाकै सबैभन्दा राम्रो बैंकको अवार्ड प्राप्त गरिरहँदा बैंकले भने गलत विवरण पेस गरेर अवार्ड प्राप्त गरेको तथ्य चंखेली खवरले फेला पारेको छ । बैंकले हरेक महिना राष्ट्र बैंकलाई बुझाउने गरेको कर्जा स्वीकृत रिपोर्ट गलत बुझाएर सबै सूचकांकमा अब्बल ठहरिंदै अवार्ड प्राप्त गरेको हो ।
हरेक बैंकले कर्जा स्वीकृत गरेको विवरण पछिल्लो महिनाको १५ गतेभित्र नेपाल राष्ट्र बैंकमा बुझाइसक्नु पर्छ । २०७७ साल पुषमा विवरण बुझाउँदा एनएमबि बैंकले करिव १० अर्व कर्जाको चलखेल गर्दै झूठा कर्जा स्वीकृत विवरण बुझाएको थियो ।
प्राप्त विवरण अनुसार २०७७ मंसिर मान्तसम्म साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा बैंकको कुल कर्जा करिव ३ अर्व ३ लाख रुपैयाँ मात्र थियो । ३ अर्व ३ लाखको कर्जा पुष मसान्तमा आईपुग्दा करिब १३ अर्व ९७ करोड रुपैयाँ पुगेको छ । एक महिनाबाट अर्को महिनासम्म करिव १० अर्ब कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुले पुष, चैत्र र असार मसान्तसम्म आफ्नो कुल कर्जाको कृषिमा ११, उर्जामा ६ र साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा न्यूनतम ११ प्रतिशत कर्जा अनिवार्य प्रवाह गर्नु पर्ने हुन्छ । यदि उल्लेखित कर्जा प्रवाह गर्न नसकेमा बैंकहरुले आर्थिक जरीवाना तिर्न पर्ने हुन्छ । त्यही जरिवानाबाट बच्न र अवार्ड प्राप्त गर्नका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले गलत विवरण राष्ट्र बैंकलाई बुझाएका थिए ।

उर्जा बाहेक अन्य कुनै पनि क्षेत्रमा नेपालमा भएका २७ वटा ‘क’वर्गका बैंकहरुले एक महिनामा १० अर्वको कर्जा स्वीकृत गर्न सम्भव छैन । बैंकहरुको आर्थिक धरातल हेर्दा र विगतका १२ महिनाहरुमा भएको कर्जा प्रवाहको अनुपातलाई तुलना गर्दा कुनै पनि बैंकले १० अर्वको कर्जा एउटै शिर्षकमा स्वीकृत गर्ने क्षमता राख्दैनन् ।
साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा झनै सम्भव छैन । यो शिर्षकमा १ करोड भन्दा साना कर्जा मात्र समावेश गर्न पाइने नेपाल राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । बैंकले स्वीकृत गरेको १० अर्वको कर्जाको लागि पुष महिनामा न्यूनतम १ हजार वटा कर्जा स्वीकृत गरेको हुनुपर्छ । तर यो सम्भव छैन् ।
मंसिर महिनामा बैंकको कुल जम्मा कर्जा करिब १ खर्व ३६ अर्व रुपैयाँ थियो । पुषमा सो बढेर रु. १ खर्व ४३ अर्व पुगेको थियो । पुषमा मात्र बैंकको कर्जा करिब ७ अर्वले बढ्दा एउटै शिर्षकमा कसरी १० अर्वले कर्जा बढेको विवरणमा उल्लेख छ ।
एनएमबि बैकको २०७७ श्रावण अन्तिमसम्म साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा बैंकको कर्जा रु. २ अर्व ८२ करोड छ । भदौ अन्तिमसम्म सो कर्जा बढेर रु. २ अर्व ९७ करोड पुग्यो । त्यस्तै अशोजमा रु. ३ अर्व ५ करोड पुग्यो । कार्तिकमा रु. ३ अर्व ५ करोडमा स्थिर छ । मंसिरमा कर्जा घटेर ३ अर्व ३ लाखमा पुग्यो । मंसिरमा ३ अर्व ३ लाख पुगेको कर्जा पुषमा आईपुग्दा करीव रु. १३ अर्व ७१ करोड पुगेका छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप एनएमबि बैंकले पुष मसान्तसम्म ११ प्रतिशत वा रु. १३ अर्व ९७ करोड कर्जा प्रवाह गर्नुपर्ने थियो । मंसिरसम्म बैंकको कर्जा रु. ३ अर्व ३ लाख मात्र भएकोले पुष महिनामा बैंकले करिब १० अर्व कर्जा स्वीकृत सहित नेपाल राष्ट्र बैंकलाई जम्मा कर्जा रु १३ अर्व ७१ करोडको भनि विवरण पठाएको देखिन्छ ।
बैंकले पठाएको विवरणमा पनि करिब २६ करोड कर्जा पुगेको देखिदैन । १० अर्वको झुटो कर्जाको विवरण पठाएकोले तोकी दिएको न्यूनतम प्रतिशत करिव पुगेको देखिन आएकोले नेपाल राष्ट्र बैंकले एनएमबि बैंकलाई कारवाहि गर्न सकेन । यदि बैंकले झुटो विवरण नपठाएको भए बैंकले थप गरेको १० अर्वको पुष, चैत्र र असार गरि तीन पटक ९० करोड जरिवाना तिर्न पर्ने हुन्थ्यो । झुटो विरण बुझाउँदा राज्यलाई तिर्न पर्ने ९० करोड जरिवाना गुमेको छ भने बैंकले पनि अवार्ड हात पारेको छ ।
के भन्छ बैंक ?
एनएमबि बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जाको स्वीकृत विवरण बुझाएको जनाएको छ । बैंकका सूचना अधिकारी सुदेश उपाध्यायले बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार एक करोडभन्दा बढीको कर्जा रकम साना, घरेलु, लघु तथा मझौला उद्योग शिर्षकमा राखेको बताए ।
‘नेपाल राष्ट्र बैंकले इमेल मार्फत पठाएको सर्कुलर अनुसार हामीले अर्को शिर्षकको रकम साना, घरेलु, लघु तथा मझौला उद्योग शिर्षकमा राखेका हौँ ।’, उपाध्यायले भने, ‘साना, घरेलु, लघु तथा मझौला उद्योग क्षेत्रमा नयाँ कर्जा स्वीकृत भएको नभई १ करोडभन्दा सानो कर्जालाई यहाँ ल्याएर राखिएको हो ।’
उनले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जाको शिर्षक परिवर्तन गरेको बताए पनि सो अवधिमा राष्ट्र बैंकले यसबारे कुनै पनि निर्देशन जारी गरेको छैन । राष्ट्र बैंकले पौष १ गते जारी गरेको निर्देशन अनुसार कृषिमा मात्र परिवर्तन गरेका छ । उक्त सर्कुलर अनुसार इ.प्रा. निर्देशन १७ को १७.१ को स्पष्टिकरणमा संशोधन गरेको थियो । उक्त संशोधनमा भनिएको थियो, ‘कृषि क्षेत्र भन्नाले औद्योगिक क्षेत्र ऐन २०७६ को अनुसूची ४ बमोजिम हुनेछ ।’ तर साना, घरेलु, लघु तथा मझौला उद्योग शिर्षकमा कुनै संशोधन भएको छैन । उक्त ऐनको अनुसूचीमा २७ वटा बुदामा कृषि क्षेत्र भनेर व्याख्या गरिएको छ ।


बैंकको मिडिया म्यानेजमेन्टको जिम्मा पाएका विष्णुप्रसाद पौडेलले आफूले पनि राष्ट्र बैंकको निर्देशन अनुसार नै उक्त शिर्षकमा रकमान्तर गरेको बुझेको बताए । ‘मैले नेपाल राष्ट्र बैंकले अनौपचारिक रुपमा बैंकहरुलाई पठाएको सर्कुलर हेरेको छु । उक्त सर्कुलर तपाईँलाई पनि देखाउन सक्छु ।’, हामिसँगको टेलिफोन संबादमा भने, ‘तर म उक्त सर्कुलर तपाईँलाई उपलब्ध गराउन सक्दिन ।’ उनले नेपाल राष्ट्र बैंकको उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह भए नभएको अनुगमन गर्ने कर्मचारीले इमेल पठाएको खुलाए ।
अध्यक्षलाई कारवाही गर्न उजुरी
एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्यानविरुद्ध उजुरी परेको छ । ठूलो संख्यामा शेयर रहेको कर्मचारी संचय कोषमा उनलाई कारवाही गर्न उजुरी परेको हो । नेपालको बैंकिङ क्षेत्र सुधार गर्न भन्दै निरन्तर लागि रहेका सूचना अभियान्ता अंगराज भारतीले अध्यक्ष गोल्यन विरुद्ध उजुरी दिएका हुन् ।
भारतीले बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले उत्पादनशिल क्षेत्र अन्तरगत साना, घरेलु, लघु तथा मझौला उद्योग शिर्षकमा कर्जा स्वीकृतीको गलत विवरण नेपाल राष्ट्र बैंकमा बुझाएर राज्यलाई कराडौँ रुपैयाँ नोक्सान गराएको भन्दै सीइओलाई कारवाही गर्न माग गर्दै दिएको निवेदन कार्यान्वयन नगरेको भन्दै कोषमा उजुरी दिएका हुन् ।
उनले ठूलो संख्यामा शेयर रहेको कोषलाई तुरुन्त विशेष साधारणसाभा बोलाई अध्यक्षलाई कारवाही गर्न र नयाँ अध्यक्ष नियुक्त गर्न माग गरेका छन् । सीइओसँगको बदमासिलाई मिलेमत्तो गरेर ढाकछोप गर्न खोजेको उनको आरोप छ । यसबारे नेपाल राष्ट्र बैंकले अध्ययन गरेर थप प्रष्ट पार्ने बताएको छ ।

