

जुम्ला – कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको १६ वर्षमुनिको पाँच किलोमिटर दौडमा अशोक विक र सुशीला विष्ट प्रथम भएका छन् । पाँच किलोमिटरमा पुरुषतर्फ अशोक र महिलातर्फको दौडमा सुशीला प्रथम भएका हुन् । यसैगरी, पुरुषतर्फ दिपेन्द्र बुढा द्वितीय र कविन्द्र बुढा तृतीय भए । महिलातर्फ कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतीय भएको अध्यक्ष सरोज शाहीले बताए । यसैगरी, खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका हुन् ।
उनीहरूलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले पुरस्कार प्रदान गरेका थिए । १६ वर्षमुनिको दौडमा विजेता खेलाडीलाई क्रमशः प्रथमलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । खुलातर्फ प्रथमलाई तीन हजार, द्वितीयलाई दुई हजार र तृतीयलाई एक हजार प्रदान गरियो । १६ वर्षमुनिको खेलमा एक सय ५६ जना खेलाडी सहभागी थिए भने खुला दौडमा दुई सयभन्दा बढीले भाग लिएका थिए ।

