

मानविय आवादीसंगै राज्यको स्थापना र विकास हुने क्रम तीब्र रुपमा शुरु भयो। समाजवादको परिकल्पना बाटै राज्य संचालकहरुले यसलाई राजनैतिक मुद्धाको रुपमा लिदै आफ्नो दस्तावेजहरुमा समावेश गरे। यद्यपि दलहरूले सत्ता प्राप्ती र सत्तामा टिकिरहने एजेन्डा को रुपमा यसलाई उपयोग गर्दै आए ।समाजवादमा राज्यले समाजको निम्ती उत्पादनलाई विषेश जोड दिई प्रचुरमात्रामा आर्थिक सहुलियत तथा कानुनी सहयोग गर्ने र राज्यले शिक्षा स्वास्थ्य, यातायात, प्राकृतिक स्रोत साधन जस्ता मुलभुत विषयहरु स्वामित्वमा लिई जनताको गाँस बास कपास जस्ता विषयको ज्ञारेन्टी गरेको हुन्छ ।
समाजवादमा उत्पादनलाई समाज विकासको प्रमुख आधार बनाएर राज्यको स्रोतसंग समाहित गर्दै कल कारखाना तथा उद्योगहरु स्थापना गरी उत्पादित बस्तुहरुलाई सर्वसुलभमा आम जनतामा पुर्याउने तथा श्रमजीवी जनताको जिवन सहज हुनेगरी जनहितमा राज्य लागिपरेको हुन्छ । नाफाखोर तथा उपभोक्ता ठगी नियतका ब्यापारीहरुलाई निरुत्साहित गरी सवैले बराबरी आम्दानी गर्ने परिकल्पना गर्नु नै समाजवादको मुख्य आधार हो ।
समाजवादमा दलाल प्रवृत्तिलाई निरुत्साहीत गरी दलाल पूजिवादलाई पूर्णतः निषेध गरिएको हुन्छ । सम्पूर्ण उत्पादनमुखी उद्योगधन्दा र उत्पादित साधनमा नियन्त्रण गरी आम समुदायलाई सर्वसुलभ रुपमा समान किसिमले वितरण गरी विभेद निर्मुल गर्नु नै समाजवादको प्रमुख लक्ष हो ।
समाज वर्गीय रुपमा विभाजित भईरहेको छ । हरेक समाजमा अझै उत्पिडन र विभेद रहेको पाइन्छ । समाजवादले वर्गीय रुपमा रहेको असमानतालाई निरुत्साहित गरी वर्गविहिन समाजको निर्माणको परिकल्पना गर्दछ । सवैलाई समान नाफाको भागीदार बनाउदै समान अवसरको प्रत्याभुत गर्ने काम समाजवादले गरेको हुन्छ । समाजवादमा सहकार्य र सहकारीले गतिलो स्थान पाएको हुन्छ । शासक र जनता सहकार्यमा रहि एक अर्काको परिपूरक बन्दै समृद्ध , शान्त र सन्तुलित समाजको निर्माण नै समाजवाद हो ।
समाजवादको खोल ओडेर पूजिवादको उपयोग गर्दै चरम विकासमा उन्मुख चीन र भारतको विचमा रहेर विषेशतः उनिहरुकै राजनैतिक ब्यवहार र दस्तावेजबाट प्रभावित भई आफ्ना विधान तथा घोषणापत्र निर्माण गरी नेपालका अधिकांश राजनैतिक पार्टिहरुले राज्यसत्ता संचालन गर्ने गरेका छन् । पञ्चायतले पनि समाजवाद उन्मुख राज्यब्यवस्थाको ढोल पिटेर ३० बर्ष शासन सत्ता संचालन गर्यो तर समाजवाद नेपाली जनताले अनुभव गर्न पाएनन् । यस अवधिमा न त जनताको स्वास्थ्य शिक्षा तथा प्राकृतिक स्रोतमा पहुँच नै पुग्यो न त श्रमजिवी जनताको जिवनस्तरमा सुधार नै आयो । मुठ्ठिभर शोषक सामान्तले आम नेपाली जनतालाई रैती मात्र बनाएर शासन सत्ता संचलन गरे । पुनः उहि समाजवादको बखान गरी २०४६ सालमा बहुदलिय प्रजानन्त्र ब्यवस्था पूनः स्थापीत भयो ।
बहुदलिय प्रतिस्पर्धामा रहेको नेपाली काङ्ग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आदर्श फलाक्दै समतामुलक समाजको स्थापना गर्न बहुलवादमा आधारीत बहुदलिय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणलीको आधारमा न्यायपूर्ण समतामुलक समाजको निर्माण गरी सम्पन्न नागरिक समुन्नत राष्ट्र निर्माण गर्दै स्वाभीमानी राष्ट्रका रुपमा परिचित गराउने प्रमुख उद्देश्य भएको कुरा विधानमा उल्लेख गर्यो। यसै अनुरुप समाजवादको सिद्धान्त भित्र रहेका केहि कार्यक्रमहरु घोषणा पत्रमा पनि समावेश गरेको छ ।
यस्तै नेकपा एमालेले नेपाली जनताको बर्गिय र सामाजिक मुक्ति पार्टिको मार्गदर्शन सिद्धान्त माक्सवाद लेलिनवाद जनताको बहुदलिय जनवाद हो, यो पार्टि जनताको बहुदलिय जनवादको मार्गदर्शनमा पूजिँवादी जनवादी क्रान्तिका उपलब्धीहरुलाई संस्थागत गर्ने । आर्थिक सामाजिक रुपान्तरणसहित राष्ट्रिय पूजिँको विकास गर्दै समाजिक न्याय, समानता, समाजवाद र साम्यवाद प्राप्तीको बाटोमा अग्रसर हुनेछ भनि विधानमा उल्लेख गरेको छ । यसैको आधारमा गत चुनावको घोषणपत्रमा पनि केहि समाजवाद उन्मुख कार्यक्रमको उल्लेख गरी सोहि अनुरुप काम गर्ने प्रतिवद्धता जनाएको थियो ।
माक्र्सवाद, लेलिनवाद र माओवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा लिदै समाजमा रहेका वर्गहरुको अस्तित्व, वर्गहरु बीचको अन्तरविरोध र वर्ग संघर्षलाई समाज विकासको अनिवार्य एवम् मुख्य आधार मान्दछ भन्दै रणनैतिक लक्ष समाजवादी क्रान्ति सम्पन्न गर्दै बैज्ञानीक साम्यवादी समाज स्थापना गर्ने नेकपा माओवादी केन्द्रले विधानमा उललेख गरेको छ । साथै जनता समाजवादी पार्टिको हकमा त यस पाटिको नामबाट नै समाजवाद उन्मुख सिद्धान्त अवलम्वन गरेको छ भन्ने प्रष्ट हुन्छ ।
नेपालका अधिकांश पार्टिका मुलभूत सिद्धान्त समाजवद नै हो यसै अनुरुप चुनावी घोषणा पत्रमा कार्यक्रमहरु उल्लेख गरी जनतासामु भोट माग्ने गरेका छन् र आगामी दिनमा पनि यसरी नै भोट माग्ने गर्छन्। जनतालाई भुलभुलैयामा पारी विगत लामो समयदेखि सत्तामा यी नै राजनैतिक पार्टिहरु आलोपालो गरी रहेका छन् । अव प्रश्न हुन्छ के हाम्रा यी पार्टिहरुले समाजवाद ल्याए त ? समाजवाद उन्मुख के कती काम गरे त ?
जव नेपालमा समाजवादधारी पार्टिहरुको उदय भयो नेपालमा समाजवाद उन्मुख होईन समाजवादको उल्टो बाटोमा हिड्ने गरी कृयाकलापहरु भई रहेका छन् । समाजवादले उत्पादनलाई उच्च प्राथमिकतामा राखेर राज्यले आवश्यक सवै सहयोग गर्ने गर्छ । राज्यले कृर्षिलाई प्रोत्साहन गर्ने तथा उद्योगहरु स्थापना गरी श्रमजीवी जनतालाई उत्पादनमा जोडी बर्गविहिन राज्यको स्थापना गरी समृद्ध र सुखी समाजको स्थापना गर्ने नै समाजवाद हो । तर नेपाल कृषीमा आत्मनिर्भर रहेको कृषी प्रधान मुलुकबाट आज बार्षिक खरबौँको खाद्यान्न आयात भएको छ । अधिकांश किसानहरु हातमुख जोड्न नसकेर कृषिबाट पलायन भएका छन् । खोतीयोग्य जमिनहरुमा बस्तीको विकास गरिएको र जमिनहरु खण्ड खण्ड भएका छन् । हाम्रो कृषि ब्यवसायीक नभई गुजारावादी भएको छ । कृषि मा लाग्ने जनताको जिवनस्तर दिन प्रतिदिन खस्कदो छ । राज्य भने सधै उनिहरुप्रति अनुदार हुदै आएको छ ।
बहुदलिय प्रजानन्त्रको स्थापना पछि नेपाली कांग्रेस , नेकपा एमाले तथा अन्य पार्टिहरुले नयाँ उद्योगहरुको निर्माण गर्नुको साटो भएका उद्योहरु निजीकरणको नाममा कौडिको भाउमा बेच्ने तथा अनाबश्यक हस्तक्षप गर्ने तथा निहित स्वार्थ पूर्तिका नीम्ती उद्योगहरु टीक्नै नसक्ने गरी धारासायी बनाउने काममा लागे । हजारौ हजारले श्रम गरिरहेको भृकुटी कागज कारखाना, हरिसिद्धी ईटा तथा टायल उद्योग, गोदावरी मार्वल, बाँसवारी छालाजुत्ता उद्योग, विराटनगर जुटमिल, बुटवल धागो कारखाना, होटौडाको कपडा कारखाना, कृषी औजार निर्माण कारखाना जस्ता सयौको संख्यामा रहेका ठुला उद्योगको हालत के कसो भयो सवैमा जानकारी नै छ । हुँदाँ हुँदा विद्युत प्रधिकरण, खाद्य संस्थान, दुग्ध संस्थान, आयल निगम, साल्ट ट्रेडिङ् जस्ता निकाय पनि टिक्न नसक्ने अवस्थामा पुगेको कुरा पनि सर्वविदितै छ ।
सरकारले स्थापना गरेको सरकारी विद्यालयहरुमा अहिले विद्यार्थीहरु छैनन् र पनि सरकारले शिक्षहरुलाई पालेकै छ । अधिकांश विद्यालयहरु जिर्ण अवस्थामा पुगेको छ भने प्राईभेट कम्पनीले संचालन गरेको विद्यालयहरुमा विद्यार्थीहरु खचाखच छन् । नेपाल सरकारले संचालन गरेको कलेजहरु अहिले करिब करिव अस्तीत्ववीहीन अवस्थामा पुग्न लागेको भान हुन्छ। यस्तै सरकारले संचालन गरेको स्वास्थ्य संस्थाहरु कि त बन्द भएका छन् कि त आर्थिक तथा प्रविधिक अभावको कारण जरजर अवस्थामा रहेको छ । अहिले नेपालमा सवैभन्दा महंगो स्वास्थ्य र शिक्षा नै छ ।
अव हामी प्रश्न गर्न सक्छौ नेपालका राजनैतीक पार्टिहरु र सत्ता संचालकहरु समाजवाद नै प्रमुख उद्देश्य बताउदै के समाजवाद उन्मुख छन् त ? पक्कै पनि छैनन् । उनिहरुले आम नेपाली जनतालाई समाजवादको कुरा गर्दै थाङ्नामा सुताई रहेका छन् । समाजवादको नाममा लुटतन्त्र चलाई रहेका छन् । असमानता र वर्गिय विभेदले सिमा नाघेको छ । वर्गको आधारमा छुट्टाएको जातजाती र जातिय विभेद तथा छुवाछुतलाई प्रोत्साहन गर्ने यिनै पार्टिका नेताहरु नाङ्गो नाँच देखाइरहेका छन् । समाजवाद यिनको लागि केवल देखाउने मुकुण्डो मात्र भएको छ । यसैले सवै आम जनता हामी समयमा नै समाजवादको मुलभुत मर्मको बारेमा जानकारी लिई यसै अनुरुप समाजलाई परिवर्तन गर्न जागरुक हुने र अवसरवादिहरुलाई जरैदेखि उखेलेर फाल्न अग्रसर हुनपर्ने आजको मुलभुत आवस्यकता टड्कारो देखिन्छ।

