मेलम्ची,
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार १ गते आएको भिषण बाढीबाट क्षतिग्रत सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रको शनिबार अवलोकन गर्नुभएको छ । अवलोकनपछि उहाँले विपद्बाट जनधनको दीर्घकालिन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकीकृत वस्ती निर्माण गरिनुपर्ने बताउनुभएको छ ।
अवलोकनपश्चात स्थानीय जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सोही स्थानमा बस्ती बसाल्दा थप जोखिम हुन सक्ने औँल्याउनुभयो । ‘यहीँ ठाउँमा त्यसैगरी उस्तै बस्ती, उही ठाउँमा बजार बसाउने कुरामा धेरै कोसिश नगरौं । किनभने २/४ वर्ष विनाश नआउँदासम्म त सुरक्षित हुन्छ । आएको बेला चाहिँ फेरि त्यसले बर्बाद गर्छ’ उहाँको भनाई थियो ।
बाढी पहिरोले खोला किनारका बस्तीहरु, बजारहरु, संरचनाहरु वा खेतीपातीलाई नै सँधै बिगार्ने बताउँदै प्रधानमन्त्रीले सुरक्षित बस्ती, सुरक्षित आवास र बाढी र पहिरोले केही गर्न नपाउने स्थानमा सार्ने र त्यो सुरक्षित स्थानमा भूकम्प प्रतिरोधक खालका संरचनाहरुको निर्माण गरेर मात्र सिन्धुपाल्चोकको जनताले सधैँ बेहोरिरहने कष्टलाई न्यून गर्न सकिने विचार व्यक्त गर्नुभएको छ ।
बाढीका कारण अहिले बगरको रुपमा परिणत भएको स्थानलाई भोलि बागबानी, बगैँचा, खेती, मत्स्यपालन आदि क्षेत्रका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । प्रधानमन्त्रीले बाढी प्रभावित ३ सय ६६ घरधुरीका लागि १५ बण्डल जस्तापाता वितरण घोषणा गर्दै त्यो जस्तापाताले तत्काल अस्थायी बसोवासको व्यवस्था गरिने बताउनुभयो । अस्थायी आवासका लागि प्राधिकरण मार्फत ५० हजार रुपैया पनि तत्काल उपलब्ध गराइने उहाँको भनाइ थियो ।
भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी विकास समितिको तर्फबाट हेलम्बु गाउँपालिका तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको लागि एक करोड पचास लाख रुपैंयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाँगपाल गाउँपालिका र जुगल गाउँपालिकामा बिपदका कारण भएको क्षति, राहत तथा पुनर्स्थापना कार्यको विस्तृत जानकारीसमेत लिनुभएको थियो ।
हेलिकप्टरमा गएका प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजना, मेलम्ची नदीमा आएको बाढीले क्षति पुर्याएको क्षेत्र र पहिरोले मेलम्ची नदी थुनिएको क्षेत्रको अवलोकन गर्नुभएको छ ।