

काठमाडौं,
नेपालमा कोरोना संक्रमितको संख्या दैनिक २ हजार नजिक पुग्न थालेको छ । गएको २४ घण्टामा परीक्षण गरिएकोमध्ये झण्डै २० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ८ हजार ७ सय ३८ जनाको परीक्षण गर्दा एक हजार ७ सय ३६ संक्रमित भएका छन् । ८ हजार ५५ पीसीआर परीक्षणमा एक हजार ६ सय ६७ र ६ सय ८३ एन्टिजेन परीक्षणमा ६९ गरी एक हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ । गएको २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । २४ घण्टामा निको हुनेको संख्या २ सय ५१ रहेको मन्त्रालयको भनाइ छ ।
यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ८ सय ६ पुगेको छ । सक्रिय संक्रमित ८ हजार ६ सय ५९ छन् भने क्वारेन्टाइनमा ९२ जना रहेका छन् । ९८ प्रतिशतसम्म निको हुने दर रहेकोमा अहिले घटेर ९५ दशमलव ९ प्रतिशतमा झरेको छ । नेपालमा आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २ रहेको छ ।

