

काठमाण्डौं,
दोस्रो अन्तर्राष्ट्रिय ‘मर्यादित महिनावारी’ दिवसको अवसरमा आयोजित ३ दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी बिहीबार सकिएको छ । डिसेम्बर ८ अर्थात मँगलबारबाट ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने मूल नाराका साथ गोष्ठि सुरु भएको थियो ।
मर्यादित महिनावारीका विषयको अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी विश्वमैं पहिलो पटक नेपालमा आयोजना गरिएको हो ।
गोष्ठिमा ३० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधि, नीति निर्माताहरू समेत गरी एक हजार जनाको सहभागिता रहेको थियो । महिनावारीका विभिन्न पक्षहरू जस्तो भान्सादेखि संसद्सम्म महिनावारी निषेधको अन्त्य, यौनिक र प्रजनन् स्वास्थ्य अधिकार, पहिलो महिनावारी देखि महिनावारी रोकिनेसम्मका लाज र विभेद, युवाहरूको भूमिका, धर्म, व्यवसाय, खानेपानी, सरसफाइ, नीति र जवाफदेहिता, बहिस्करणमा परेका र पारिएकाहरूको अवस्था र अधिकार, अनुसन्धान, अनुदान र कार्यान्वयनको अवस्था लगायतका विषयमा प्यानल छलफल, प्रस्तुती, छोटो सिनेमा आदि प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जाल (साउथ एशिया कोलिसन) ले संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यशालामा भर्चुअल र सहभागिमुलक दुवै माध्यमबाट सञ्चालन भएको थियो ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले विश्वमैं पहिलो पटक नेपालमा मर्यादित महिनावारी सम्वन्धी गोष्ठिको आयोजना भएकोमा खुसी व्यक्त गर्नुभयो । दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालकी प्रमुख तथा अभियन्ता राधा पौडेलले महिनावारीलाई मानवअधिकार र राजनीतिक दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो ।
महिनावारीलाई विभेद र छुवाछूतको दृष्टिकोणबाट बुझिनु अत्यन्त दुःखद भएकाले मर्यादित महिनावारीको कुरा सबैले गर्नुपर्ने उहाँको भनाइ छ । गत जेठमा हुने भनिएको कार्यशाला कोरोनाका कारण पछि सारिएको थियो ।
गोष्ठीको पहिलो दिन मर्यादित महिनावारी सम्वन्धी हाते किताव ‘मर्यादित महिनावारी, एउटा प्रयोगात्मक हाते किताव’ को विमोचन गरिएको थियो । जुन किताब २२ देशका ४० जना लेखकहरुले लेखेका छन् भने दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालकी प्रमुख तथा अभियन्ता राधा पौडेलले यसलाई सम्पादन गर्नु भएको थियो ।
यो किताव मर्यादित महिनावारी सम्बन्धीको पहिलो किताव भएको पनि अभियन्ता तथा सम्पादक पौडेलले बताउनुभयो । गोष्ठि समापनका क्रममा १२ बुँदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको छ । जसमा मासिक धर्म (महिनावारी) सम्बन्धीका कथाहरुलाई पुनःपरिभाषित गर्ने, मानव मर्यादा र मौलिक अधिकारहरूको रक्षा गर्ने, उनीहरूलाई बदनाम नगर्ने लगायतका कुराहरु छन् ।


