

काठमाडौं – सरकारी कर्मचारी तथा शिक्षकले सामाजिक सञ्जालमा चुनावी प्रचार प्रसार सामग्री शेयर गर्न नपाउने भएका छन्।
मङ्गलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले त्यसका लागि सचेत गराएको हो।
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन आचारसंहिता जारी गरेको छ।
अनुगमनका क्रममा आचार संहिता प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षण संस्था सम्बद्ध शिक्षक तथा कर्मचारी राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको छ।
आचारसंहितामा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने उल्लेख छ।
सोही आधारमा आचार संहिता उलङ्घन गर्ने शिक्षक तथा कर्मचारीलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार स्पष्टीकरण सोधी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
ऐनको उक्त व्यवस्था अनुसार अटेर गर्ने शिक्षकत तथा कर्मचारीलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्छ।

