

काठमाडौं,
सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ । बुधबार गृह मन्त्रालयमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको हो । बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।
कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको छ । कार्ययोजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिना लगाएर बनाएको विपत प्रतिकार्ययोजनालाई आजको बैठकले पारित गरेको पोखरेलको भनाइ छ ।
गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, गैरसरकारी संस्था परिचालन सम्वन्धी कार्यविधि र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुननिर्माण सम्वन्धी कार्यविधि पनि पारित गरेको छ ।
कार्यकारी समितिका अध्यक्ष समेत रहनु भएका मन्त्री अधिकारीले बाढीपहिरोको जोखिम बढेकोले तत्काल राहत तथा उद्धारमा खटिन माहतहतका निकायलाई निर्देशन दिनु भएको छ । सिन्धुपाल्चोक सहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरेर तत्काल उद्धार तथा राहतमा तथा उपचारमा जुट्न सुरक्षा निकायलाइ निर्देशन दिइएको छ ।
सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ भने मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट क्षतिहरू भएका विवरण आइरहेका छन् । बैठकमा सुरक्षा निकायले बाढीपहिरो डुबानको पछिल्लो अवस्थाको बारेमा विपद व्यवस्थापन कार्यकारी समितिलाई ब्रिफिङ गरेका थिए ।

