

मेलम्ची,
सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको बताउनु भएको हो ।
अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीमा परी ५० जना सम्पर्कविहीन भएका छन् । मेलम्ची खानेपानी ड्याममा समेत क्षति गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्ग्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण बगाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनीयाको क्याम्प पनि डुबानमा परेका छन् । बाढीले हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्कमा क्षति भएको स्थानीयले जनाएका छन् ।
मेलम्चीमा बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, होटल रेष्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरि अर्बौं को क्षति भएको स्थानीय सिपी दुलालले बताउनुभयो । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहतमा जुटन स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले अपिल गर्नु भएको छ । मन्त्री तामाङले आजै निरीक्षण गर्ने र सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्ने पनि जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमार्फत उहाँले स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्नु भएको छ भने अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथ दिन पनि आग्रह गर्नुभएको छ । विहान उज्यालो भएसँगै खोज, उद्दार तथा राहतको काम सुरु भएको जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले जनाएको छ ।
खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसी नदीसम्मका आसपासका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन सरकारले अपिल गरेको छ ।



