

काठमाडौं,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य समायोजन गर्न निर्देशन दिनु भएको छ । सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै मन्त्री ढकालले बिहीबार हवाई इन्धनको मूल्य समायोजन गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेल लगायतसँग छलफल गरेर हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिनुभएको मन्त्री ढकालको सचिवालयले जनाएको छ ।
हवाई इन्धनको मूल्य महँगो भएको भन्दै मन्त्री ढकालले मूल्य घटाउन निर्देशन दिनुभएको छ । इन्धनको मूल्य घटाउँदा माग बढ्ने भएकाले निगमको भण्डारण क्षमता बढाउन आवश्यक जग्गा व्यवस्थापनका लागि सहयोग गर्न समेत उहाँले नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको सचिवालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन पनि विभिन्न संस्थाहरूले माग गर्दै आएपछि हवाई इन्धनको मूल्य घटाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पहलकमदी लिनुभएको हो ।

