

काठमाडौं,
पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकाहरूलाई आगामी वैशाख ७ देखि दोस्रो डोज खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाइने जनाएको हो ।
गत माघ १४ देखि फागुन १० सम्म पहिलो जोड खोप लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी लगायतलाई वैशाख ७ देखि ११ सम्म दोस्रो मात्रा लगाइने मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणको खोप लिनलाई खोप कार्ड अनिवार्य लिएर खोप केन्द्रमा जान भनिएको छ । गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाले वैशाख ७ गते लगाउन भनिएको छ ।माघ १८, १९, २०, २१, र २७ गते लगाउनेले वैशाख ८ गते लगाउन मिति तोकिएको छ ।
माघ २२, २३, २४, २८ र फागुन २ गते लगाउनेले वैशाख ९ गते, माघ २९ र फागुन ३, ४, ५, ६ गते लगाउनेलाई वैशाख १० गते र माघ ३० र फागुन ७, ८, ९ र १० गते लगाउनेलाई ११ गते लगाउन भनिएको छ । खोप बिहान १० बजेदेखि ४ बजे सम्म दिइने मन्त्रालयले जनाएको छ ।
सरकारले पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई भारतमा उत्पादित कोभिसिल्ड खोप लगाइदिएको थियो । अबको चरणमा कोभिसिल्डकै पहिलो डोज लिएकालाई दोस्रो डोज दिन लागिएको हो ।


