

सुर्खेत,
कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले) का तीनैजना मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय कार्यान्वयनको छलफलमा तीनै जना मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएका हुन् ।
कर्णाली प्रदेशमा एमालेले चैत ४ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका मन्त्रीहरुले समर्थन कायम रहेको बताएका थिए । आइतबार बसेको संसदीय दलको बैठकमा सहभागी मन्त्रीहरुले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएको एमाले प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारमा एमाले माधव नेपाल समूहका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी छन् । आइतबारको बैठकले शाहकै संयोजकत्वमा तीन सदस्य रहेको विधान मस्यौदा कार्यदल समेत बनाएको छ । कार्यदलमा करवीर शाही र मिना रखाल सदस्य छन् ।
शाहीका अनुसार बैठकले चैत ४ गतेको संसदीय दलको बैठकको निर्णय अनुसार मार्गप्रशस्त गर्न मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । पार्टी केन्द्रमा असहज स्थिति देखिएको भन्दै बैठकले एक ढिक्का भएर अगाडि बढ्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
शाहका अनुसार एमाले संसदीय दलको अर्को बैठक चैत २४ गतेका लागि बोलाइएको छ । सर्वोच्च अदालतले नेकपा विवादको फैसला गर्दै माओवादी केन्द्र र एमालेलाई अलग अलग दल बनाएपछि कर्णाली प्रदेश सरकार संकटमा परेको हो ।

