

काठमाडौं,
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बांकी भूभागहरुमा बदली नरहेता पनि तुवाँलो रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले अबको तीन दिनसम्म देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । बिहीबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागका थेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ। देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार पनि दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छभने देशका पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार र शनिबार रातको समयमा भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

