

काठमाडौं,
प्राथमिक सेयर (आइपिओ) को नतिजा अब सञ्चार माध्यमबाट हेर्न नपाइने भएको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार तीन वटा वेबसाइटबाट मात्रै आइपिओको नतिजा हेर्न पाइने छ। यसअघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बाँडिदै आएकोमा अब सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएसको वेबसाइट मेरो सेयरमार्फत मात्रै नतिजा हेर्न पाइने सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
‘लगानीकर्ताको डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित राख्नुपर्ने बिनियमावलीअनुसार सञ्चार माध्यमलाई व्यक्तिगत विवरण नदिन हामीले सबै बिक्री प्रवन्धकलाई निर्देशन दिएका छौं’ सिइओ आचार्यले भन्नुभयो, ‘आज शुक्रबार महिला लघुवित्तको आइपिओ बाँडफाँड हुँदै छ । सो कम्पनीको आइपिओ नतिजा पनि ३ वटा वेबसाइटबाट मात्रै हेर्न पाइने छ।’
यसअघिसम्म विभिन्न सञ्चार माध्यमहरुले समेत आइपिओको नतिजा राख्दै आएका थिए । लगानीकर्ताको विवरण चुहावट भई दुरुपयोग हुन सक्ने संभावित जोखिमलाई न्यूनीकरण गर्न यसले मद्दत पुग्ने सिइओ आचार्यको भनाइ छ । आइपिओको नतिजा डिम्याट खाता नम्बरका आधारबाट हेरिन्छ । यसरी डिम्याट खाता नम्बर सहितका विवरण सञ्चारमाध्यमलाई पनि दिएको भन्दै लगानीकर्ताले आपत्ति जनाउँदै आएका थिए।

