

काठमाडौं,
प्रतिनिधिसभाका सदस्य (सांसद) हरुले गत पुसदेखि फागुनसम्मको तलब/सुविधा एकमुष्ट रुपमा पाउने भएका छन् । संसद विघटनका कारण रोकिएको तलव सुविधा एकैपटक उपलब्ध गराउन लागिएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब/सुविधा रोकेको थियो ।
फागुन ११ गते सर्वोच्च अदालबाट प्रतिनिधिसभा विघटन बदर भएपछि यसअघि रोकिएको तलब सुविधा सांसदहरुले एकमुष्ट पाउने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको सबै तलब सुविधा एकमुष्ट रुपमा पठाइने उहाँको भनाइ छ ।
सांसदहरुको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ भने सभामुखको तलव ६७ हजार ३ सय २० रुपैयाँ छ । प्रमुख प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति र सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकको तलव ६० हजार ९ सय ७०, राष्ट्रिय दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलको सचेतकको ५७ हजार ७ सय ८० रुपैयाँ रहेको छ ।
यसका अलावा विशेष भत्ता प्रति महिना सबैलार्इ एक हजार रुपैयाँका दरले, बैठक भत्ता प्रति दिन १ हजार रुपैयाँ र सञ्चार सुविधा प्रतिमहिना ३ हजारका दरले पाउनेछन् । त्यस्तै आवास सुविधा १८ हजारदेखि २८ हजार २ सय ७५ सम्म, फर्निचर खर्च, इन्धन खर्च, यातायात सुविधा, बिजुली धारा लगायतका शीर्षकमा पनि सांसदहरुले सुविधा पाउँछन् । त्यस्तै सांसदहरुका लागि दैनिक भ्रमणभत्ता २ हजार ५ सय रुपैयाँका दरले र यात्रा बीमा १० लाखसम्मको गरिएको पनि संसद सचिवालयले जनाएको छ ।


