

काठमाडौं,
सर्वोच्च अदालतले संसद पुनस्थापनाको फैसला गरेपछि आगामी बैशाख १७ र २७ का लागि घोषित मध्यावधि निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले घोषित निर्वाचनसँग सम्बन्धित कार्यहरु स्थगन गरेको छ तर सरकारले आयोगलाई निर्वाचन स्थगन भएको लिखित जानकारी भने गराएको छैन । निर्वाचन स्थगन भएको पत्र पठाउनुपर्नेमा बुधबार साँझसम्म सरकारले चिठी नपठाएको आयोगले जनाएको छ ।
तर, सरकारले चिठी नपठाए पनि निर्वाचन सामग्री खरिद लगायतका टेण्डर प्रक्रिया स्थगन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगको बैठकले त्यसविषयमा छलफल गर्ने र निर्णय गरेपछि मात्रै निर्वाचन सामाग्री खरिदका लागि भएको टेण्डर प्रक्रियाबारे निष्कर्षमा पुगिने उहाँको भनाइ छ ।
मतदाता नामावलीलाई अन्तिम रुप दिने कार्य भने फागुन २१ सम्म गर्ने भनिएकोमा सो काम पूरा हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । मतदाता नामावली अद्याबधिक गर्ने काम त अबको जुनसकै निर्वाचनका लागि प्रयोगमा आवश्यक पर्ने भएकोले बाँकी काम आयोगले सक्छ ।
यसवीचमा आयोगले निर्वाचनको तयारीका क्रममा मतदानस्थलहरुको टुंगो लगाउने काम पनि गरेको थियो । यी दुबै काममा बाहेक अन्य खर्च आयोगले निर्वाचन प्रयोजनका लागि नगरेको हुनाले फजुल खर्च हुनबाट बचेको छ ।

