

काठमाडौं,
बागमती प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले नेपाल पत्रकार महासंघका १३ वटै जिल्ला शाखालाई आपतकालीन झोला वितरण गरेको छ । विपद तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रम अन्तर्गत सबै जिल्ला शाखालाई दुई वटाका दरले आपतकालीन झोला हस्तान्तरण गरिएको प्रेस रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिनुभयो ।
झोलामा ल्यापटप, पावर बैंक, माइक्रोफोन, टर्च लाइट र मोबाइल ट्राइपोड रहेको उहाँको भनाइ छ । मँगलबार भक्तपुर र ललितपुर शाखालाई झोला हस्तान्तरण गरिएपछि १३ वटै शाखालाई झोला हस्तान्तरण गर्ने कार्यक्रम पनि सकिएको उहाँको भनाइ छ । यसअघि हेटौंडामा आयोजित एक कार्यक्रममा रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट, चितवन र मकवानपुर शाखालाई सञ्चार रजिष्ट्रारको कार्यालय बागमतीले दुई वटा आपतकालीन झोला हस्तान्तरण गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेल र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र सचिव रामप्रसाद दाहालको उपस्थितिमा झोला हस्तान्तरण गरिएको प्रेस रजिष्ट्रार सापकोटाले बताउनुभयो । विपदग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न चाहने पत्रकारले नेपाल पत्रकार महासंघबाट यो आपतकालीन झोला लिन पाउँछन् ।
पहिलो चरणमा नेपाल पत्रकार महासंघका धादिङ, दोलखा, सिन्धुपाल्चोक, काठमाडौ, रसुवा र सिन्धुली शाखालाई सम्बन्धित जिल्लामा पुगेर ती सामग्री हस्तान्तरण गरिएको थियो ।
बागमती प्रदेशमा क्रियाशिल पत्रकारको हितमा गरिएको यो प्रयासले स्थलगत भ्रमण गरी गुणस्तरिय समाचार उत्पादनमा सहयोग पुग्ने, पाठक, स्रोता र दर्शकले गुणस्तरिय सूचना पढन, सुन्न र हेर्न पाउने आशा र बिश्वास लिएको प्रेस रजिष्ट्रार रेवती सापकोटाले बताउनुभयो ।


