

कमल थापा,
नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान प्रजातन्त्र सम्मत छैन । नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन । संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यता प्रतिको बिश्वासको अभिव्यक्ति हो ।
केपी ओलीको असफलता र अकर्मण्यताबाट मुक्तिको लागि पनि ताजा जनादेश उपयुक्त हुन्छ । बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नेबारे संविधानमा केही अस्पष्टता छ । त्यसको निराकरण सर्वोच्च अदालतले गर्छ । यसमा व्याख्याको जरुरी छ ।
संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वभाविक हो । संविधानको आशय स्थिरता हो । विघटनले होइन, पुनःस्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ । विगतको अनुभव दृष्टिगत गर्दै संविधानले स्थिरतालाई जोडदिएको हो ।
चुनावमा पूर्णबहुमत प्राप्त दल फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठबन्धन बनाएर सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापि होइन । बहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो ।
निहीत स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जना गर्ने कार्यले बरु संविधान र प्रजातन्त्रलाई कमजोर बनाउँछ । सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णयगर्न ढिलो हुँदा राजनीतिक दल नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा हुन्छ ।

