

काठमाडौं,
काठमाण्डौबाट कुलेखानी भीमफेदी हुँदै हेटौंडा जोड्ने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द हुने भएको छ । निर्माणाधीन भीमफेदी कुलेखानी सडकखण्ड यहि माघ १० गते शनिबारदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द गरिएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिनुभयो ।
निर्माणाधीन भीमफेदी कुलेखानी सडकका घुम्तीहरुमा सिमेन्ट कंक्रिट ढलान हुने भएकाले सडक सम्बन्धित आयोजनाको निर्माण कार्यसँग सम्बन्धित सवारी साधनहरु बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको उहाँको भनाइ छ ।
भीमफेदी कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । यो सडकखण्ड भएर ओहोरदोहोर गर्नेलाई वैकल्पिक सडक प्रयोग गर्न पनि निर्देशनालयले आग्रह गरेको छ।
भीमफेदी कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाण्डौ आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।


