

काठमाडौं,
माघ ११ देखि दोस्रो बजारबाट सेयर खरिद गर्नेहरुले भोलिपल्टै ब्रोकर कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने भएको छ । सिडिएस एण्ड क्लियरिङले माघ ११ देखि सेयर कारोबार २ दिनभित्रै राफसाफ गर्ने नियम ‘टि प्लस टु’ लागू गर्दैछ । अर्थात कारोबार भएको दिनबाहेक दुई दिनभित्रै राफसाफ हुनेछ।
हालसम्म टी प्लस थ्री लागू हुँदै आएको छ । जसका लागि खरिद गर्ने लगानीकर्ताले सेयर कारोबार गरेको भोलिपल्टै सोको रकम भुक्तानी गर्नुपर्नेछ । त्यस्तै सेयर बिक्री गर्नेले भोलिपल्टै इडिआइएस गर्नुपर्ने भएको छ ।
इडिआइएसको पुरा रुप इलेक्ट्रोनिक डिपोजिट इन्स्ट्रक्सन स्लिप हो । यसैमार्फत लगानीकर्ताले सेयर बिक्री गरिसकेपछि आफ्नो नाममा भएको सेयर खरिद गर्नेलाई हस्तान्तरण गर्दछन् ।
अनलाइन मेरो सेयरमार्फत बिक्री गरेको सेयर हस्तान्तरणका लागि स्वीकृत गरिन्छ । इडिआइएस हुन नसकेमा भौतिक रुपमै स्लिप भरेर ब्रोकर कम्पनीलाई बुझाउनुपर्दछ ।


