

काठमाडौं,
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्राथमिक सेयर (आइपिओ) मा हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ । यहि माघ २ गतेबाट खुलेर मँगलबार ६ गते बन्द भएको आईपीओमा १५ लाख २९ हजार ४ सय ६० जनाले आवेदन दिएका छन् ।
बैंक मार्फत आवेदन दिएकाहरुको संख्या थप हुन सक्ने बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । झण्डै १५ लाख ३० हजार बढी आवेदकले कुल १८ अर्ब १२ करोड बढी रकमको सेयर माग गरेका छन् ।
मागभन्दा बढी आवेदन परेपछि आवेदन लिने कार्य पनि मँगलबारबाट बन्द भएको छ । धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ता र सोभन्दा बढी सेयर बाँडफाँड गर्न पुग्ने अवस्थामा १० ले गुणा जाने अंकमा बाँडफाँड गर्नुपर्छ ।
इन्फ्रास्ट्रक्चरमा परेको आवेदनअनुसार ४० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति नै सेयर पाउने छन् । ५० कित्ता र सोभन्दा बढी सेयर माग गर्नेले भने गोलाप्रथाबाट ५० कित्ता वा ६० कित्तासम्म सेयर पाउने छन् ।
बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट थालेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

