२०८३ बैशाख ४, शुक्रबार
 

जाडोमा निमोनियाः बेवास्ता गरे ज्यानमारा हुनसक्छ

prabhu bank home loan
-डा. हेमराज कोइराला

निमोनियाको कारण वर्षेनी लाखौं बालबालिकाको मृत्यु हुने गर्छ । बुढाबुढी, कमजोर र रोगीहरुका निम्ति समेत निमोनिया निकै जोखिमपूर्ण मानिन्छ । जाडोको मौसममा, धुवााधुलोमा, दम वा खोकी लागेको अवस्थामा निमोनिया हुने खतरा हुन्छ । कतिपय अवस्थामा निमोनियाले ज्यान लिन सक्छ । झन कोरोना भाइरस रोगको महामारी फैलिएको यस परिप्रेक्षमा कोभीड निमोनिया फैलिने खतरा उत्तिकै छ ।

वर्षेनी लाखौंको मृत्यु
निमोनियाबाट वर्षेनी लाखौंको मृत्यु हुन्छ । त्यसमा धेरैजसो पाँच वर्षभन्दा कम उमेरका बालबालिका पर्दछन् । साथै ६० वा सो भन्दा बढी उमेरका जेष्ठ नागरिक यहि रोगको कारण मर्ने गरेका छन् ।

अमेरिका जस्तो विकसित देशमा पनि वार्षिक ५० हजारको ज्यान लिइरहेको यो रोगबाट हाम्रो देशमा वार्षिक कति जाना मारिन्छन् भन्ने ठोस तथ्याङ्क छैन । यद्यपी निमोनियाको कारण वर्षेनी हजारौंको मृत्यु हुने कुरामा भने शंका छैन ।

विश्वको परिप्रेक्षमा निमोनिया रोगबाट वार्षिक ४५ करोड मानिसहरू संक्रमित हुने गरेका छन् । संक्रमित हुने मध्येका ४० लाख व्यक्तिहरू यहि रोगको कारण ज्यान गुमाउन बाध्य छन् ।

के हो निमोनिया ?
फोक्सोको तन्तुहरू संक्रमितभई फोक्सोमा देखा परेको प्रदाहत्मक स्थितिलाई चिकित्सकीय भाषामा निमोनिया भनिन्छ । निमोनियाको संक्रमण रोग जाडो मौसममा बढी हुने गर्दछ । समयमै पहिचान गरेर यथोचित उपचार हुन नसके ज्यानै पनि जान सक्छ । फोक्सोको तन्तुहरूमा ब्याक्टेरिया, भाईरस, फङ्गस (ढुसीको) वा परिजिविहरूले आक्रमण गरिदिदा फोक्सो संक्रमित भई देखा परेको प्रदाहत्मक रोगावस्थालाई चिकित्सकिय भाषामा निमोनिया भनिन्छ । अधिकांश स्थितिमा निमोनिया हुदाँ फोक्सोको क्रियात्मक इकाई आल्वियोलाई (फोक्सोको तन्तु र रक्तकोसिका बिच प्राणवायुको आदान प्रदान हुने थैली) संक्रमित हुने गर्दछ ।

स्वस्थ अवस्थामा हावा भरिएका यि आल्वियोलाईहरू संक्रमण पश्चात पानी र कफ जमेर सुन्निन थाल्छ । तत्काल चिकित्सकिय व्यवस्था हुन नसके निमोनिया फोक्सोको अधिकांश हिस्सामा फैलिएर फोक्सोले काम गर्न नसक्ने अवस्था आउँछ र व्यक्तिको मृत्यु हुन्छ ।

किन हुन्छ ?
निमोनियाको मुख्य कारण भनेको व्याक्टेरिया, भाइरस, ढुसी, माईकोप्लास्म वा परजीविहरुको संक्रमण हो । किटाणुहरूको अलावा छातीको चोटपटक, फोक्सोको घाउ तिव्र रसायनहरुको धुवाँ, आत्मघाती प्रतिरक्षा प्रणाली र औषधीहरुको एलर्जीका कारणले पनि निमोनिया हुनसक्छ ।

कुन अवस्थामा बढी जोखिम ?
१) जाडो र वर्षाको मौसम ।
२) धुवाँ, धुलो फोहोरमैला र प्रदुषित वातावरण ।
३) दाउरा, गुईठा जस्ता बायोमास जलाइने नेपाली चुलो ।
४) धुम्रपान र मध्यपान ।
५) दम, पुरानो खोकी र क्यान्सर जस्ता फोक्सोको रोग ।
६) कमजोर प्रतिरक्षा प्रणाली ।
७) मृगौला एवं कलेजोको गम्भिर रोगहरू ।
८) ठेउला दादुरा र लहरेखोकी जस्ता रोगको प्रकोप ।
९) क्षयरोग, एच.आई.भी., एड्स, मधुमेह, क्यान्सर र मुटुको रोग ।
१०) ग्याष्ट्रिकको औषधीको दीर्घकालिन सेवन ।
११) ५ वर्ष भन्दा मुनि र ६० वर्ष भन्दा माथिको उमेर ।

कसरी थाहा पाउने ?
निमोनिया हुँदा तिब्र ज्वरो आउने, चिसोको महशुस हुने, छाती दुख्ने, थकानको महसुस हुने, खोकी लाग्ने, खोक्दा हरियो वा खैरो रंगको खकार आउने र कहिले ाँहि खकारमा रगत पनि देखिने गर्दछ । फोक्सोको संक्रमण भएकाले श्वासप्रश्वासमा समस्या, गहिरो श्वास लिन खोज्दा छातीमा सोला हान्ने श्वासको दर र हृदय गती बढ्ने आदि लक्षण पनि देखा पर्दछ ।

उपरोक्त लक्षणका साथै थकान महसुस हुने, जोर्नीहरू दुख्ने, ओठ कलेटी पर्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने वा उल्टी हुने रक्तचाप घट्ने, टाउको दुख्ने, मन परिवर्तन भइरहने र मानसिक क्षमता घट्ने र होस हराउने जस्ता लक्षण पनि देखा पर्दछ ।

निमोनियाको वर्गीकरण
निमोनियालाई वर्गीकरण गर्ने आधारहरू धेरै छन् । संक्रमण गर्ने किटाणुहरुको आधारमा निमोनियालाई
– व्याक्टेरियाले हुने निमोनिया
– भाइरसले हुने निमोनिया
– ढुसीले हुने निमोनिया
– माइकोप्लास्मले हुने निमोनिया
– परजीविले हुने निमोनिया गरेर ५ प्रकारमा वर्गिकरण गरिएको छ ।
यसैगरी,

निमोनिया सल्किने स्थानको आधारमाः
– अस्पतालबाट फैलने निमोनियाः यो निमोनिया अस्पतालमा भर्ना भएका विरामी वा उसले प्रयोग गरेको ब्याक्तिगत वा चिकित्सकीय सामाग्री प्रयोग गर्दा वा सल्किने अस्पतालको वातावरण प्रयोग गर्दा सर्दछ ।
– समुदायबाट फैलने निमोनियाः समुदायबाट सल्किने निमोनिया भन्नाले अस्पताल भन्दा बाहिरको वातावरणमा भएका किटाणुहरुको संक्रमणले गर्दा लाग्ने निमोनिया हो ।

सल्किने तरिकाको आधारमा पनि निमोनियालाई दुई समूहमा वर्गिकृत गरिएको छ ।
एस्पिरेसन निमोनियाः थुक खकार निल्दा वा खानेकुरा र पेयपदार्थ सर्किएर फोक्सो तिर पस्दा हुने निमोनियालाई एस्पिरेसन निमोनिया भनिन्छ ।
भेन्टिलेटर जनित निमोनियाः भेन्टिलटर प्रयोग गर्दा सल्किने निमोनियालाई भेन्टिलेटर जनित निमोनिया भनिन्छ ।

निमोनियाले फोक्सोमा पारेको प्रभावको आधारमा
लोवार निमोनिया
ब्रोंको निमोनिया
इन्ट्रस्टेसियल निमोनिया गरेर तीन समुहमा वर्गिकृत गरिएको छ

के छ त उपचार ?
निमोनियाको प्रारभ्भिक निदान विधि भनेको लक्षण र चिन्हहरूको विश्लेषण एवं क्लिनिकल परीक्षण हो । उच्च ज्वरो आएको, खोकी लागेको, खोक्दा खकार आउने, छाती दुख्ने, श्वासको गति बढेको, चिसो महशुस भएको एवं छाती भारी भएको, थकाई लाग्ने, १ सय २० प्रतिमिनेट भन्दा उच्च नाडीगति, ३० प्रतिमिनेट भन्दा उच्च श्वासगति र कमजोर मानसिकता विकसित हुँदै गइरहेको भए निमोनियाको आशंका गरि तुरुन्त चिकित्सक कहाँ पुगिहाल्नु पर्दछ ।

रोगको किटान एकिन गर्नका लागि भने रक्तकोषहरुको गणना, सेरम इलेक्ट्रोलाइटको मापन, सी. रिएक्टिभ प्रोटिनको मापन, पल्स अक्सिमेट्री, कलेजो र मृगौलाको कार्य परीक्षण, छातीको एक्सरे वा सी.टी. स्क्यान खकारको जाँच ब्रोङ्कोसकोपी र कहिलेकाही प्लूरल फ्लूईडको परीक्षण पनि गर्नु पर्ने हुन सक्छ ।

निमोनियाको उपचार
निमोनिया संक्रामक रोग भएकोले रोगको कारण, संक्रामक किटाणुको प्रकृति, रोगको गम्भिरता र लक्षण एवं चिन्हहरूको विश्लेषणको आधारमा उपचार अगाडि बढाईन्छ । निमोनिया ब्याक्टेरियाहरुको संक्रमणले लागेको भए एब्टिवायोटिक्स औषधिहरू चलाईन्छ साथै ज्वरो, खोकी र नातागतको पनि छुट्टै औषधि दिईन्छ ।

व्याक्टेरियाको संक्रमणले हुने निमोनिया भाइरसको संक्रमणले हुने निमोनिया भन्दा चाडै ठिक हुन्छ तर रोग ठिक भए पनि औषधिको पुरै कोर्स पुरा गर्नुपर्छ बिचमा छोड्नु हुँदैन । बिचैमा औषधि छोडिदिँदा रोगका किटाणुहरू पुरै मरिसकेका हुदैनन् । साथै यी किटाणुले औषधि प्रति प्रतिरोध क्षमता पनि विकास गरिसकेका हुन्छन् । यसो हुँदा रोग फेरि बल्झिन्छ र ज्यादा भयावह बनेर प्रकट हुन्छ । साथै फेरि उपचार गर्दा एण्टिबायोटिकले पनि काम गर्दैन ।

निमोनिया भाइरसहरूको कारणले भएको भए एण्टिभाइरल औषधिद्धारा उपचार गर्नु पर्ने हुन्छ । भाइरल निमोनिया ब्याक्टेरिल निमोनियाभन्दा लामो समय लिएर ठिक हुन्छ । भाइरल निमोनियामा ज्वरो, खोकी, थकान आदि भए यथोचित औषधिहरू पनि दिनु पर्ने हुन्छ ।

निमोनिया भएको पाइएमा सकभर अस्पताल भर्ना भएरै उपचार गराएको राम्रो हो । त्यसमा पनि रोगी ५ वर्षभन्दा कम उमेरका बालबालिका वा ६० वर्ष माथिका जेष्ठ नागरिक भए अस्पताल भर्ना गर्न आवश्यक हुन्छ । वयस्कमा पनि श्वासको गति १ मिनेटमा ३० पटक भन्दा माथि गएमा, नाडीको गति १ सय २० पटक प्रतिमिनेट भन्दामाथि गएमा रक्तचाप घट्न थाले र शिथिलता बढ्दै गएमा अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।

निमोनियाको उपचार गर्दा मुख्यरुपमा रोग उत्पन्न गराउने किटाणुको पहिचान गरेर त्यस विरुद्ध औषधि चलाईन्छ । यो रोगको लक्षणको रुपमा देखा परेको ज्वरो, खोकी नातागत आदिलाई पनि यथोचित औषधि दिएर समन गर्ने प्रयास गरिन्छ । औषधिको कोर्स सामान्यतया १० देखि १५ दिनको हुन्छ । औषधि लिए पश्चात केहीदिन मैं आराम भए जस्तो भएपनि औषधि पुरा कोर्स खानु पर्दछ ।

यो रोगका रोगीले उपचार अवधिभर आराम गर्ने र शारिरीक र मानसिक रुपमा पूर्ण रिल्याक्स रहनु पर्छ । कफ ज्यादा बढेमा नेबुलाइजरको प्रयोग गरेर निकाल्नु पर्ने पनि हुन्छ । खानामा हल्का फुल्का सुपाच्य भोजन लिनुपर्ने हुन्छ । झोलिलो खानेकुराले पनि यो रोग समन गर्न मद्धत गर्दछ । तसर्थ तरकारीको रस, दालको झोल, ताजा जुस एवं तरकारीको सुप, मह पानी, नरिवलको पानी आदिको सेवन पनि यो रोगको लागि हितकर छ । पानीको बाफ लिँदा पनि श्वास मार्गलाई ओसिलो बनाई श्वास फेर्ने सजिलो बनाउँछ ।

कसलाई बढी खतरा
यथोचित र बेलैमा उपचार गर्न सके निमोनियाले त्यति बिगार गर्देन तर बेलैमा सहि उपचार सुरु नहुँदा रोगका किटाणुहरू रगतमा फैलिएर सेप्टिसिमियाको अवस्था आउनसक्छ र ज्यान पनि जान सक्छ । यसै गरी फोक्सोको धेरै स्थानमा पानी जम्दा पर्याप्त अक्सिजन नपुगेर पनि मान्छे मर्न सक्छ ।

यदि रोगी पाँचवर्ष मुनिको बालबालिका हो वा ६० वर्षको माथिको जेष्ठ नागरिक हो वा प्रतिरक्षा प्रणाली कमजोर भएको, मृगौला, कलेजो, मुटुरोगी र क्यान्सरको रोगी, स्टेरोइड थेरापी लिइरहेको, एच.आइ.भी. संक्रमित भएको वा ठूलो चोटपटक लागेको मान्छे हो भने उनीहरूमा यो रोग ज्यानमारा पनि हुन सक्छ ।

रोकथामको उपायहरू
१. यो रोगबाट बच्ने उपाय भनेको किटाणुहरुको संक्रमणबाट बच्नु हो । खासगरी रुघाखोकी लाग्दा केही दिनमा रुघाखोकी ठिक नभए डाक्टरलाई देखाई हाल्नु पर्छ ।
२. ठेउला, दादुरा जनैखटिरो वा फ्लुको संक्रमण भएको व्यक्तिलाई तुरुन्त निमोनिया हुन सक्छ तसर्थ यस्ता रोगलाई ख्याल ख्यालमा नलिऔ ।
३. संक्रमित व्यक्तिलाई भेट्दा वा सम्पर्कमा आउदा विशेष सावधानी अपनाऔँ । उनीहरूसँग खास दुरी बनाएर बसौँ । रुघाखोकी लागेकाहरूसँग हात मिलाउने, अंकमाल गर्ने, नजिक बस्ने वा चुम्बन गर्ने नगरौँ ।
४. आफूलाई रुघाखोकी वा फ्लु भएको छ भने यो निमोनियाको कारणले पनि हुन सक्छ । यस्तो अवस्थामा खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा टिस्यु पेपरको प्रयोग गरौँ ।
५. निमोनियाको संक्रमण अस्पतालबाट पनि फैलिने गर्दछ । अतः आवश्यक नपरेको अवस्थामा अस्पताल नजाऔँ । गए पनि संक्रमित रोगी भएका वार्डतिर नजाऔँ ।
६. रोगीलाई स्याहार्ने चिकित्साकर्मी हेरचाह गर्ने नर्स वा विरामी कुरुवाले विशेष सावधानी अपनाऔँ ।
७. मौसम बदलिँदा पथपहरेजमा विशेष ध्यान दिऔँ । चिसो, धुवाँ धुलो र प्रदुषणबाट बचौँ । विशेष गरी चिसोमा बालबालिका र जेष्ठ नागरिकको विशेष ख्याल राखौँ । बच्चालाई रुघाखोकी र कफको समस्या भए स्कुल पनि जान नदिऔँ । प्रदुषित ठाउँमा जानै परे गुणस्तरीय मास्क लगाएर मात्र जाने गरौँ ।
८. धुम्रपान आफु पनि नगरौँ अरुलाई पनि गर्न नदिऔँ । विशेषतः स साना बालबालिका भएको ठाउँमा धुम्रपान गर्दै नगरौ । काठ दाउरा, गुइठा जस्ता बायोमास ईन्धन प्रयोग गरी खाना पकाउँदा धुँवा बाहिर जाने सुधारिएको चुल्हो प्रयोग गर्ने गरौं ।
९. निमोनियाबाट बच्न खोप (न्यूमोकोकल कन्जुगेट भ्याक्सिन) पनि उपलब्ध छ । हुनत विश्व स्वास्थ्य संगठनले आफ्नो नियमित खोप कार्यक्रममा यो खोपलाई सुचिकृत गरेको छैन तथापि जोखिम वर्गमा परेकाले यो खोप लगाएको राम्रो हो । २ वर्ष भन्दा कम उमेरका बच्चा र ६५ वर्ष भन्दा ज्यादा उमेरका व्यक्तिहरुलाई निमोनियाको खोप दिनु राम्रो हो । २ वर्ष भन्दा माथिका व्यक्तिहरुलाई विशेष परिस्थितीमा मात्र यो खोप दिऔँ ।
१०. रुघामर्कीलाई हल्का रुपमा नलिऔँ किनकि निमोनियाको प्रारम्भिक लक्षण नैं रुघामर्की हो । अधिकांश आमाबुबाहरू बच्चालाई निमोनिया भैसक्दा पनि रुघामर्की लागेको ठानेरै बसिरहन्छन् । यदि रुघामर्की ४÷५ दिनभित्र ठिक नभए अचानक तिब्र ज्वरो आए, श्वासको गति अचानक बढे, नाडी गति बढे, बच्चाले दुध पिउन छाडे, खान मन नगरे, शरिर लल्याक लुलुक भए, ओठ कलेटी परे वा हातखुट्टा र ओठ निलो हुन थाले तुरुन्त अस्पताल लगिहालौ ।
११. चिसोबाट बचाऔ । बच्चालाई चिसोबाट बचाउन प्रशस्त लुगा लगाएर न्यानो पारेर राख्नुपर्छ ।
१२. बच्चाको सरसफाइमा विशेष ध्यान दिऔं । बच्चा सुताउने कोठा, खेलौना एवं लुगाफाटो आदिको सरसफाइमा विशेष ध्यान दिऔँ ।
१३. खाना खुवाउदा वा दुध पिलाउँदा सर्किन्छ कि भनेर विशेष ध्यान दिऔँ । खाना सर्किहाल्यो भने निमोनिया हुन्छ कि भनेर सचेत बनौं ।
१४. बाहिरबाट आएर एक्कासी बच्चालाई समाति नहालौ । हाम्रो सँस्कृतिमा बाहिरबाट आएर बच्चा छुनु भन्दा पहिले आगो छुने चलनथियो । यो अत्यन्त वैज्ञानिक रिती थियो । अब आगो छुईरहन सम्भव नभए पनि ७० प्रतिशत अल्कोहल सोल्यूसनले हात धोएर मात्र बच्चालाई छुने गरौं ।
१५. नियोनिया संक्रमित व्यक्तिसँग बच्चालाई टाढै राखौँ ।
१६. निमोनियाको शंका लाग्ने वित्तिकै तुरुन्त डाक्टर कहाँ पुगिहालौं ।
१७. निमोनियाको औषधि सेवन गर्न थालेपछि कोर्स पुरा गरेपछि मात्र छाडौं ।
१८. बालबालिकालाई आमाको दुध पिलाऔं । आमाको दुधमा बच्चालाई चाहिने पोषकतत्वहरू र रोग प्रतिरोधक तत्वहरू हुन्छन् ।

(लेखक भरतपुर–१ वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुनुहुन्छ ।)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने