


काठमाण्डौं ।
चंखेली खबर, संवाददाता ।
नेपाल राष्ट्र बैंकका कर्मचारीले राज्य कोष\सम्पत्तिको चरम दोहन गरीरहेका छन् । राज्य कोष\सम्पत्तिको दोहन गर्र्ने कामलाई यातायात व्यवस्था कार्यालय पनि साथ दिएको छ । नेपाल राष्ट्र बैंकले देखाएको चोरीको बाटोमा यातायात व्यवस्था कार्यालय हिडेर नेपाल राष्ट्र बैंकका सवारी साधनलाई रातो प्लेटमा दर्ता गरी दिएको छ । राज्य कोष\सम्पत्तिको दोहन गर्न दुई निकायको मिलीभगत जनताले फगत टुलुटुलु हेर्न मात्र सकेका छन् ।
हाल सम्म संचालनमा रहेका नेपाल राष्ट्र बैंकको नाममा १२९ वटा सवारी साधन दर्ता छन् । ती सबै सवारी साधानहरुको नं. प्लेट रातो छ ।
शनिवार वा अन्य सार्वजनिक बिदाको दिन सेतो प्लेटका सवारी साधन दूरुपयोग भएमा वा बिना पास चलाएमा नेपाल ट्राफिक प्रहरीले ठाँउको ठाँउ समातेर कारवाहि गर्न सक्ने र सर्वसाधारणले कारवाहिको लागि प्रहरीलाई अनुरोध गर्न सक्ने सम्भावना रहन्छ तर प्राईभेट भनि संकेत गरीएका रातो प्लेटका सवारी साधनको दूरुपयोग भएमा न त ट्राफिकले समाउन सक्छ न त सर्वसाधारणले कारवाहिको लागि पहल नै गर्न सक्छन् । रातो नं. प्लेटको यही फाईदाका कारण राज्यको सम्पत्ति चरण दोहन गर्न ठूलै चलखेल भई यो गतल कार्य भएको देखिन्छ ।
सेतो प्लेटमा नभई किन रातो प्लेटमा नेपाल राष्ट्र बैंकले सावरी दर्ता ग¥यो ? यो प्रश्न सोध्न हामीले नेपाल राष्ट्र बैंकका प्रबक्तालाई कार्यालयमा सम्पर्क गरेका थियौं । अति नै व्यस्त प्रबक्ता गुणाकर भट्ट हाम्रो सम्पर्कमा आउन चाहेनन् । नेपाल राष्ट्र बैंकको वेव साईटमा उपलब्ध मो.नं. मा सम्पर्क गर्दा हाम्रो मो.नं. भट्टले ब्लक गरेको थाहा पायौं । सवारी साधन दोहन गर्नेमा एक जना तिनै प्रबक्ता गुणाकर भट्ट पनि पर्छन् ।
तपाइँका प्रबक्ताले हाम्रो नं. ब्लक गरेका छन्, नेपाल राष्ट्र बैंकको आधिकारीक धारणा तपाइँले दिनुस् भनि गर्भनर महाप्रसाद अधिकारीलाई कार्यालयमा फोन गरेका थियौं । उनी कार्यालय आई नपुगेको जानकारी सचिवालयले दियो ।
स्मरण रहोस् यसै गरी हामीले विगतमा करीव १५—१८ पटक फोन गरी सकेका छौं । जहिले पनि कित मिटीङ्गमा कि त कार्यालय बाहिर छन् भन्ने मात्र जवाफ सचिवालयबाट पाईरहेका छौं ।
सवारी तथा यातायात व्यवस्था ऐन के भन्छ ?
ऐनको परीच्छेद २ मा सवारी साधानको वर्गीकरण गरीएको छ । सो वर्गीकरण अनुसार दर्ताको हिसावले ११ तरीकाबाट दर्ता कायम गर्ने प्रावधान रहेको छ ।
ऐनको दफा ९ मा भएको व्यवस्था,
९. सरकारी सवारी ः (१) कुनै सरकारी कार्यालयको नाममा दर्ता भई दर्ताको प्रमाणपत्र प्राप्त नेपाल सरकारको स्वामित्व भएको सवारीलाई सरकारी सवारी भनिनेछ ।
(२) सरकारी सवारीको पहिचानको लागि सो सवारीको अगाडि तथा पछाडि अनुसूची –२ को खण्ड (घ) मा लेखिए बमोजिमको नम्बर प्लेट राख्नु पर्छ ।
अनुसूची २ को खण्ड (घ) मा लेखिएको छ
अनुसूची – २ (दफा ६, ७, ८, ९, १० र ११ संग सम्बन्धित)
सवारीको प्लेट खण्ड (क) सार्वजनिक सवारी
(दफा ६ को उपदफा (५) संग सम्बन्धित) ः– कालो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनुपर्नेछ । तर अब उप्रान्त बागमती अञ्चलभित्र दर्ता गरी काठमाडौं उपत्यकाको चक्रपथ र चक्रपथ बाहिर भाडामा चलाइने टेप्पो र माइक्रोबसको नम्बर प्लेट सेतो प्लेटमा कालो अक्षर र अड्ढमा राख्नु पर्नेछ ।
खण्ड (ख) पर्यटक सवारी (दफा ७ को उपदफा (२) संग सम्बन्धित) ः– हरियो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनु पर्नेछ ।
खण्ड (ग) निजी सवारी (दफा ८ को उपदफा (३) संग सम्बन्धित) रातो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनु पर्नेछ ।
खण्ड (घ) सरकारी सवारी (दफा ९ को उपदफा (२) संग सम्बन्धित) सेतो प्लेटमा रातो अक्षर र अड्ढमा हुनु पर्नेछ ।
खण्ड (ङ) संगठित संस्था वा संस्थानको सवारी (दफा १० को उपदफा (२) संग सम्बन्धित) पहेँलो प्लेटमा नीलो अक्षर र अड्ढमा हुनु पर्नेछ ।
ऐनले प्रष्ट पारी सकको अवस्थामा पनि नेपाल राष्ट्र बैंक र यातायात कार्यालयले गरेको यो हर्कत ऐन विपरीत छ । ऐन विपरीत कार्य गर्नेलाई कस्ले कारवाहि गर्ने ?? जवाफको पर्खाईमा सर्वसाधारण हुने गर्दछन् ।
हामीले उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता संजीव शर्मालाई सोधेका थियौ, सरकारी सवारी साधन दूरुपयोग भए वा सार्वजनिक बिदाका दिन चलाएमा ट्राफिकलाई कारवाहि गर्ने अधिकार छ वा छैन ? यदि छ भने, ट्राफिकले के कस्तो कारवाहि गर्न सक्छ ? प्रबक्ताले भने, ‘त्यसरी दूरुपयोग भएको पाईएमा ट्राफिकलाई कारवाहि गर्ने अधिकार छ । हामीले जिल्ला प्रशासन वा गृह मन्त्रालयले दिएको पास हेर्छौ । यदि पास छैन भने, सवारी साधनलाई दिनभरी होल्ड गर्छौ र ५ सय रुपैयाँ देखि १५ सय रुपैयाँसम्मको चिट काटेर कारवाहि गर्छौ ।’
रातो नं. प्लेट भएकोले नेपाल राष्ट्र बैंकका कर्मचारीले कार्यालय काम बाहेक आफ्नो व्यक्तिगत काममा सवारी साधन प्रयोग गरेको अनुगमन कस्ने गर्ने ? कसरी गर्ने ? राज्य कोष यसरी दोहन भई रहदा सर्वसाधारणहरु टुलु टुलु हेरेर मात्र बस्न सक्छन् । ठूलालाई चेन, सानालाई ऐन भनेको यही होला ।

