

चंखेली खबर संवाददाता,
काठमाण्डौं ।
एसियाकै उत्कृष्ट बैंक भनि उपाधि पाएको एनएमबि बैंक लि. ले राज्यलाई करीव ३,३६,८०,०००/– (तीन करोड छत्तीस लाख असी हजार) जरीवाना तिरेको छैन । नेपाल राष्ट्र बैंकले तोकी दिएको न्यूनतम ११ प्रतिशत कर्जा साना, मझौला तथा घरेलु उद्योग क्षेत्रमा प्रवाह नगरेकोले उक्त जरीवाना तिर्नु पर्ने तर तिरेको छैन ।
नेपाल राष्ट्र बैकले तोकी दिएको साना, मझौला तथा घरेलु उद्योागमा ११ प्रतिशत कर्जा प्रवाह नगरेकोले बैंकले उक्त जरीवाना तिर्नु पर्ने देखिन्छ । आर्थिक वर्ष २०७७/२०७८ को पौष, चैत्र र असार त्रयमासमा “क” वर्गका वित्तिय संस्थाहरुले आफ्नो कुल कर्जाको ११ प्रतिशत कृषी, ११ प्रतिशत साना, मझौला तथा साना उद्योग र उर्जामा ६ प्रतिशत कर्जा अनिवार्य लगानी गर्न निर्देशन जारी गरेको थियो ।
एनएमबि बैंकले आर्थिक वर्ष २०७७/२०७८ को पौष त्रयमासमा १०.७९ प्रतिशत मात्र कर्जा प्रवाह गरेको छ । ०.२१ प्रतिशत कर्जा प्रवाह गर्न नसकेकोले करीव ९८,५०,०००/– (अन्ठानब्बे लाख पचास हजार) र चैत्र त्रयमासमा ०.४८ प्रतिशत कर्जा प्रवाह गर्न नसकेकोले करीव २,४१,००,०००/– (दुई करोड, एकचालिस लाख) गरी कुल जम्मा ३,३६,८०,०००/– (तीन करोड छत्तीस लाखअसी हजार) जरीवाना तिर्नु पर्ने हो ।
राज्यलाई यति ठूलो जरीवाना रकम नतिर्ने बैंकले आफू एसियाकै उत्कृष्ट बैंक भएको प्रचार प्रसार गर्ने उद्देश्यले पत्रकारहरुलाई एभरेष्ट होटेलमा जलपान गर्न मंसीर १५ गते ३.३० बजे को लागि निमन्त्रणा नै पठाएको थियो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा बैंकले साना तथा मझौला क्षेत्रमा १०.७९ र १०.५२ प्रतिशत कर्जा प्रवाह गरेको प्रतिवेदन सार्वजनिक गरीरहेको अवस्थामा बैंकका अध्यक्ष भने साना/साना कृषी तथा घरेलु उद्योगमा प्रसस्तै कर्जा प्रवाह गरी रोजगारी सृजना गरीरहेको भनि झूठा भ्रम छर्दै मिडीयाहरुमा अन्तरवार्ता दिइरहेका छन् ।
पुष त्रयमासमा कृषीमा ११ प्रतिश कर्जा प्रवाह गर्न नसकेकोले स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५७,८४,६१७/– (सन्ताउन्न लाख चौरासी हजार छ सय सत्र रुपैयाँ) जरीवाना तिरेको छ भने एनएमबि बैंकले नेपाल राष्ट्र बैंकलाई अटेरी गर्दै उल्लेखीत जरीवाना तिरेको छैन ।
नेपाल राष्ट्र बैंकले जरीवाना असुल गर्न पनि खासै चासो देखाएको छैन । एनएमबि बैंक लि. मा गभर्नर महाप्रसाद अधिकारीको शेयर रहेकोले पनि यति ठूलो जरीवाना असुल नगरेको हुन सक्ने सर्वसाधारणको बुझाई रहेको छ ।
यति ठूलो जरीवाना रकम बैंकले किन तिरेन, भनि हामीले एनएनबि बैंकका सूचना अधिकारी तथा प्रबक्ता सुदेश उपाध्यायलाई सोधेका थियौं, उनले भने, “राष्ट्र बैंकको निर्देशन अनुसार २०७८ असार मसान्तमा ११ प्रतिशत कर्जा प्रवाह नगरेमा जरीवाना तिर्नु पर्ने हो, चैत्र र पुषमा नपुग्दैमा जरीवाना तिर्नु पर्दैन ।”
प्रबक्ताले असारमा नपुगेमा मात्र जरीवाना तिर्नु पर्ने भनि दाबी गरे पनि निर्देशनमा कहि कतै पनि असारमा मात्र नपुगेमा जरीवाना लाग्नेछ भनिएको छैन । यसको प्रमाणित नेपाल राष्ट्र बैंक आफैले गरेको छ । यदि असारमा मात्र जरीवाना लिने हो भने, स्ट्याण्डर्ड चार्टड बैंकबाट पुषमा नै किन जरीवाना असुल गर्यो त ?
स्थापित बैकले यसरी नेपाल राष्ट्र बैंकको निर्देशन नमानि राज्यलाई यति ठूलो जरीवाना चुना लगाएको अवस्थामा बैंक एसियाकै कसरी उत्कृष्ट भयो ? आम चासो बढेको छ ।

